दुर्घटनामा मृत्यु भएका भारतीयहरुको शव बुझ्न राज्यमन्त्री खड्से काठमाडौंमा

  • भारतका युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से काठमाडौं आइपुगेकी छिन् ।

    तनहुँको आँबुखैरेनी गाउँपलिका–४ ऐनापहरामा शुक्रबार भएको यात्रुवाहक बस दुर्घटनाका घाइते आफ्ना नागरिकको स्वस्थ्य अवस्था बुझ्न काठमाडौं नेपाल आएकी हुन् ।

    काठमाडौं आएलगत्तै उनी महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर घाइेतको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

    दुर्घटनामा घाइते भएका १६ भारतीय यात्रुको महाराजगंजस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।

    शुक्रबार पोखराबाट काठमाडौँतर्फ आइरहको युपी ५३ एफटी ७६२३ नम्बरको यात्रुवाहक बस सडकबाट दुई सय मिटर तल मस्र्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । यस्तै १६ जना घाइतेको उपचार भइरहेको छ ।

    घाइतेहरुलाई नेपाली सेनाको हेलिकप्टरबाट शुक्रबार नै काठमाडौं ल्याइएको थियो । प्रहरीका अनुसार सो बसमा ४३ जना यात्रु सवार थिए ।

    यसैबीच, चितवनको भरतपुर अस्पतालमा दुर्घटनामा ज्यान गुमाएकाहरुको शव परीक्षण भइरहेको छ ।

    शव परीक्षण सकिएपछि आजै राज्यमन्त्री खड्सेको नेतृत्वमा दुर्घटनामा ज्यान गुमाएको शव भारत लगिने गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्री रमेश लेखकको सचिवालयका जन भट्टका अनुसार भारतीय टोलीसँग गृह मन्त्रालयमा ब्रिफिङ गरिनेछ ।

    ‘गृह मन्त्रालयमा घटनाबारे ब्रिफिङ गरिने छ । त्यसपछि भारतीय टोली भरतपुर जाने र त्यहींबाट भारतीय एयरक्र्याफ्टले शवहरु लिएर भारत फर्किने तालिका छ,’ भट्टले भने ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation