इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जीत निकालेको छ ।
आइतबार राति भएको खेलमा लिभरपुलले ब्रेन्टफोर्डलाई २–० गोल अन्तरले पराजित गरेको हो । जितसँगै २ खेलबाट ६ अंक बनाएको लिभरपुल तालिकाको चौथो स्थानमा छ । ब्रेन्टफोर्डको भने पहिलो हार हो । उसको तालिकामा ३ अंकमात्रै छ ।
लिभरपुलले घरेलु मैदान एनफिल्डमा ब्रेन्टफोर्डविरुद्ध २–० को सहज जीत निकाल्दा लुइस डियाज र मोहमद सलाहले एक एक गोल गरेका थिए । खेलको १३ औं मिनेटमा डियाजले डिएगो जोटाको पासमा गोल गर्दै अग्रता दिलाए । ७० औं मिनेटमा सलाहले डियाजको पासमा गोल गरेपछि लिभरपुल २–० ले विजयी भयो ।
प्रिमियर लिगकै अर्को खेलमा चेल्सीले वुल्भरह्याम्पटन (वुल्भ्स)लाई ६–२ गोलको फराकिलो अन्तरले पराजित गरेको छ । चेल्सीको जीतमा चुकुनोन्सो ट्रिस्टन मडुकेले ह्याट्रिक गर्दा निकोलस ज्याक्सन, कोल पालमर र जाओ फ्लेक्सले एक एक गोल गरे।
वुल्भ्सका लागि म्याथ्युस सान्टोस र जोर्जेन स्ट्रान्ड लार्सेनले एक एक गोल फर्काए । चेल्सीका लागि निकोलस ज्याक्सनले खेलको दोस्रो मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए । वुल्भ्सका म्याथ्युस सान्टोसले गोल गर्दै २७ औं मिनेटमा बराबरी गरे । ४५ औं मिनेटमा कोल पालमरले गोल गरेपछि चेल्सीले अग्रता २–१ बनायो ।
पहिलो हाफमै अतिरिक्त छैटौं मिनेटमा लार्सेनले गोल गरेपछि बुल्भ्सले पहिलो हाफ २–२ को बराबरीमा अन्त्य गरेको थियो । तर, दोस्रो हाफमा चेल्सीले थप आक्रामक खेल्दै थप ४ गोल गरेको थियो । ४९ औं मिनेटमा चुकुनोन्सो ट्रिस्टन मडुकेले व्यक्तिगत पहिलो गोल गरेपछि चेल्सीले ३–२ को अग्रता लिन पुग्यो ।
उनै मडुकेले ५८ औं र ६३ औं मिनेटमा लगातार गोल गर्दै ह्याट्रिक पूरा गर्दा चेल्सी ५–२ ले अघि बढेको थियो । ८० औं मिनेटमा जाओ फ्लेक्सले गोल गरेपछि चेल्सीले यो सिजनको पहिलो र फराकिलो जीत निकाल्न सफल भयो । जीतपछि चेल्सीले तालिकामा पहिलो ३ अंक जोड्न सफल हुँदा वुल्भ्सको भने यो लगातार दोस्रो हार हो । प्रिमियर लिगकै अर्को खेलमा एएफसी बर्नमाउथ र न्युक्यासल युनाइटेडले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।