अवैध रूपमा अमेरिका हिँडेका १७६ नेपाली ब्राजिलको साउपाउलो विमानस्थलमा अलपत्र

  • ब्राजिलको साउपाउलो विमानस्थल ट्रान्जिटमा १७६ नेपाली अलपत्र परेको  नेपाली दूतावासले जानकारी दिएकाे छ । उनीहरूलाई आवश्यकता अनुसार मानवीय सहायता पुर्याउन दूतावास तयारी अवस्थामा रहेको भन्दै नेपाली दूतावासले मंगलबार विज्ञप्ति जारी गरेको हाे ।

    विज्ञप्तिमा भनिएकाे छ , ‘दक्षिण अमेरिकाका ब्राजिल लगायतका मुलुक हुँदै अवैध रूपमा संयुक्त राज्य अमेरिका प्रवेश गर्ने उद्देश्यले विभिन्न स्थानबाट दक्षिण अमेरिकी मुलुकहरूमा आउने प्रवृत्ति बढ्दो छ ।  संगठित रूपमा सञ्चालित मानव तस्करहरूको प्रलोभन र उक्साहटमा परी नेपालबाट समेत युवाहरू यस क्षेत्रमा आउने गरेको जानकारी बेलाबेलामा हुने गरेको छ । कयौँले अकल्पनीय पीडा व्यहोर्नुका साथै ठुलो धनराशि खर्च गर्नुपर्ने परिस्थितमा फस्न पुगेको पाइएको छ ।’

    यस्तो अवस्थामा  ब्राजिल सरकारले तत्काल लागू हुने गरी नेपालसहित  केही देशका राहदानीबाहकलाई प्रवेशाज्ञा लिएको भएमा मात्र ब्राजिल प्रवेशको अनुमति दिने नियम ल्याएको दूतावासले जनाएको छ ।

    ‘अब उप्रान्त नेपाली आगन्तुकले ब्राजिल भएर सिधै गन्तव्य मुलुकतर्फ उड्न पाउने र त्यसरी नगएमा सोही विमानमार्फत फिर्ता पठाइने तर विमानस्थलमा शरणार्थीको मान्यता नदिइने जनाइएको छ’, विज्ञप्तिमा उल्लेख छ ।

    दूतावासले मानव तस्करहरूको सञ्जाल प्रयोग गरी गरिने यस प्रकारको यात्रा अवैध, जोखिमपूर्ण र अनिश्चित हुने भन्दै जायज कारण भएमा सो पुष्टि गर्ने कागजात र प्रवेशाज्ञा लिएर मात्र ब्राजिल वा ब्राजिल हुँदै अन्य मुलुकको भ्रमणमा निस्कन सम्बन्धित सबैमा अनुरोध गरेको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2024 newsinnepal.com All right reserved Site By : Himal Creation