प्रधानमन्त्री ओलीले भने– प्रकाश तामाङलाई सरकारले आवश्यक सहयोग गर्छ

1.68K
shares

विद्या चापागाईंको युट्यूब सिरज ‘हेर्ने कथा’ को सहयोगमा ३५ वर्षपछि आफ्नो परिवारसँग पुनर्मिलन भएका प्रकाश तामाङ (काले मोक्तान)ले केही दिनमा नै नागरिकता पाउने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गृहसचिव एकनारायण अर्याललाई बोलाएर नागरिकताका लागि सहजिकरण गर्न निर्देशन दिइसकेको बताए ।

उनले भने, ‘हेर्ने कथामा प्रकाश तामाङको कथा हेरेपछि मैले सचिवालयका साथी मार्फत प्रस्तोता विद्या चापागाईंलाई फोन गरेँ । उहाँ व्यस्त रहेकाले त्यसबेला कुरा हुन सकेन। पछि सचिवालयको विद्या चापागाईं  र प्रकाश तामाङसँग सम्पर्क भयो। प्रकाशलाई तत्कालको आवश्यकता नागरिकता नै रहेको बुझियो। नागरिकता भए मात्र उहाँको बैंक खाता खोल्न सकिने र सहयोग गर्न चाहनेहरूले सहयोग गर्न मिल्ने हुन्छ।  नागरिकता छिटो बनाउने विषयमा राति १० बजे नै गृहसचिव एकनारायण अर्याललाई बोलाएर उहाँसँग कुरा भयो । उहाँले प्रकाशलाई दुई÷चार दिन भित्रैमा नागरिकता दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाउनु भएको छ र यो खबर प्रकाशलाई पनि पठाइसकिएको छ। नागरिकता प्राप्त गरिसकेपछि प्रकाशलाई आवश्यक सहयोग गर्ने विषयमा पनि कुरा भएको छ ।’

नागरिकता भए प्रकाशको बैंक खाता खोल्न सकिने र सहयोग गर्न चाहनेहरुले सहयोग गर्न मिल्ने भएकाले पनि यो आवश्यकता पूरा गर्नुपर्ने उनले बताए । बुधबार विहानै सामाजिक सञ्जालमार्फत ओलीले नागरिकता प्राप्त गरिसकेपछि प्रकाशलाई सरकारको तर्फबाट आवश्यक सहयोग हुने समेत बताएका छन् ।