नेपाललाई स्तब्ध पार्दै बंगलादेश बन्यो साफ च्याम्पियन

130
shares

बंगलादेशले पहिलोपल्ट साफ यु-२० च्याम्पियनसिपको उपाधि जितेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको साफ यु-२० को फाइनलमा  दुई पटकको च्याम्पियन नेपाललाई स्तब्ध पार्दै बंगलादेशले उपाधि जितेको हो।

पहिलो पटक उपाधि जित्ने क्रममा बंगलादेशले घरेलु टोली नेपाललाई ४–१ ले पराजित गरेकाे छ । सन् २०१५ र २०१७ मा उपाधि जितेको नेपालको भने यसपट  ह्याट्रिक गर्न चुकेको छ।

बंगलादेशको लागि मिराजुल इस्लामले दुई तथा रब्बी हुसेन र अहमेद नोभनाले  एक /एक गोल गरे। नेपालका लागि समीर तामाङले एक गोल फर्काएका थिए ।

पहिलो हाफको इन्जुरी टाइममा गाेल गरेका मिराजुलले डि बक्स बाहिरबाट  फ्रिकिकमा  सोझै गोल गरेका थिए ।

खेलको ९औं मिनेटमै नेपालले सुवर्ण अवसर प्राप्त गरेको थियो। करिब २५ यार्डबाट नीराजन धामीले बार च्याप्दै प्रहार गरेको बल मोहम्मद आसिफले मुस्किलले पञ्च गरेका थिए ।

नीराजनले सिर्जना गरेको अर्को अवसर नेपालले २१ औं मिनेटमा गुमायो। दुई बंगलनदेशी डिफेन्डर एकआपसमा जुध्दा नीराजनले कट पास दिएका थिए। तर, अनमार्कमा रहेका अविनाश स्याङ्तानको प्रहारले पोस्टको दिशा लिन सकेन।

पहिलो हाफमा गोल खाएपछि दोस्रो हाफको सुरुवातदेखि नेपाल बराबरी गोल फर्काउने प्रयासमा लागेपनि सफल भएन ।

मिराजुलले नै  खेलकाे ५५औं मिनेटमा बंगलादेशले अग्रता दोब्बर बनाए। इस्लाम सकिबले दिएको बललाई राजीब हुसेनले हेडिङ गरेका थिए। तर,  गोल लाइननजिक रहेका मिराजुलले हेडिङमार्फत बललाई जाली चुमाए। जारी प्रतियोगिता उनको यो चौथो गोल थियाे।

७१औं मिनेटमा रब्बी हुसेनले बंगलादेशका लागि तेस्रो गोल गरे।

खेलको २५औं मिनेटमै नेपालले पहिलो परिवर्तन गरेको थियो। मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले लछु थापाको स्थानमा विंगर अनिल बम्जनलाई मैदान छिराए।

सन् २०१८ मा साफ यु-१५ को उपाधि जितेको बंगलादेशले सन् २०२२ मा सिनियर महिला टोलीबाट साफ महिला च्याम्पियनसिपको उपाधि जितेको थियो।उक्त खेलमा पनि नेपाल बंगलादेशसँग ३-१ ले नै पराजित भएको थियो ।