राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पुनर्योगको दोस्रो चरणको नतिजा प्रकाशन गरेको छ । पुनर्योगको नतिजा अनुसार नन ग्रेडेड (एनजी) आएका ६१० जना विद्यार्थीको नतिजा परिवर्तन भएको छ । उनीहरूमध्ये ३४ जनाको ए प्लस ग्रेड आएको छ । त्यस्तै १३३ जनाको ए ग्रेड आएको छ । गत वैशाख १४ देखि २६ गतेसम्म कक्षा १२ को परीक्षा सञ्चालन भएको थियो । जसको नतिजा साउन १८ गते सार्वजनिक भएको थियो ।
जसमा एक लाख ८७ हजार २१ विद्यार्थीको नतिजा एनजी आएको थियो । नतिजामा चित्त नबुझेकालाई साउन मसान्तभित्र पुनर्योगका लागि निवेदन दिन आह्वान गरिएको थियो । जसमा ४० हजार विद्यार्थीले पुनर्योगका लागि निवेदन दिएका थिए ।
तीमध्ये साउन २७ गतेसम्म निवेदन दिएका विद्यार्थीहरूको पुनर्योगको नतिजा प्रकाशन गरिएको बोर्डले जनाएको छ । पुनर्योगको नतिजा उत्तर पुस्तिका पुनर्योग समितिको भदौ १२ गते बसेको बैठकको निर्णयअनुसार नतिजा प्रकाशन गरिएको बोर्डले जनाएको छ ।