प्रचण्ड भन्छन् – अहंकार देखाए बंगलादेश र श्रीलंकाको हालत हुन्छ
सरकारलाई दुई तिहाइ बहुमतको घमण्ड नदेखाउन चेतावनी
वि.सं.२०८१ भदौ १३ बिहीवार १२:१५
shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई दुई तिहाइ बहुमतको घमण्ड नदेखाउन चेतावनी दिएका छन् ।
धनगढीमा भएको पार्टीको प्रदेश परामर्श बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले सरकारको सुरुवाती दिन हेर्दा राम्रो लक्षण नदेखिएपछि दुई तिहाइको अंहकार देखाए बंगलादेश र श्रीलंकाको हालत हुन्छ भनेर सम्झाएको बताए ।
उनले भने, ‘दुई तिहाइको अंहकार नदेखाउनोस् भनेर सम्झाएको मात्र छु । उहाँहरुले अलि बढी गर्न थाल्नु भो भने भ्रष्टाचारका विरुद्धसडकमा आउँछौं । दुई तिहाइको घमण्ड नगर्नोस्, तपाँइहरु सुध्रिनुहोस्, राम्रो कामको समर्थन नै हुने छ तर लक्षण राम्रो गर्नेजस्तो देखिएको छैन । गल्ती गर्दै गए प्रतिपक्षले छाड्ने छैन, अहिले बेलैमा सचेत मात्रै गराइएको हो ।’
उनले अहिले दुई तिहाइका नाममा संविधान संशोधनको विषय ल्याउन खोजिएको उल्लेख गर्दै संविधान संशोधनका नाममा समावेशी, समानुपातिक व्यवस्थामा घात हुन्छ कि भन्ने शंका पैदा भएको बताए ।
उनले वर्तमान सरकार निर्माणमा माफियाको भूमिका रहेको उल्लेख गर्दै सरकार निर्माण हुनुअघि वार्ता, सहमति कहाँ र कसका घरमा भए भन्ने विषयले पनि सरकार निर्माणमा विचौलियाको भूमिका के छ भनेर प्रष्ट देखिने बताए ।
उनले पार्टी फुट र विवाद हल्ला निराधार रहेको स्पष्ट गर्दै बरु विगतमा विभाजन भएका माओवादी पार्टीहरुसँग एकताको तयारी भइरहेको बताए ।












