रास्वपामा पदाधिकारीलाई बर्खास्त गर्नेको लहर, फेरि महामन्त्रीलाई बर्खास्त

1.39K
shares

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले धमाधम आफ्ना पार्टीका मुख्य भुमिकामा रहेका पदाधिकारीहरुलाई कारबाही गर्न थालेको छ । सुरुमा जनताको गुनासो सहितको प्रतिवेदन बुझाउँदा रास्वपाका महामन्त्री मुकुल ढकाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको थियो त्यस्तै अहिले सुदुरपश्चिम प्रदेशका महामन्त्री पारस बाहुनलाई पनि पार्टीले बर्खास्त गरेको छ । यसलाई हेर्दा रास्वपामा अहिले बर्खास्त गर्नेको लहर चलेको भन्दा फरक नपर्ला । पार्टीको हितका लागि जनताको आवाज बैठकमा उठाउँदा विभिन्न बाहाना गरेर स्पष्टिकरण सोध्ने र चित्त बुझ्दो स्पष्टिकरण नभएको भन्दै पार्टीबाट बर्खास्त गर्ने गरिएको रास्वपाका एक सदस्यले जानकारी दिए । रास्वपा अहिले मिसन ८४ को दौरानमा छ । जनताले गरेको रास्वपामाथिको प्रश्नलाई बैठकमा उठाउँदा पार्टीबाट नै बर्खास्त गर्ने अचम्मको कुरा रहेको निलम्बित रास्वपाका महामन्त्री मुकुल ढकालको भनाई छ । त्यति मात्र होइन, रास्वपाका सभापति रवि लामिछानेले आफ्नो बारेमा केहि नकरात्मक कुराहरु बाहिर आयो भने त्यसलाई लुकाउन विभिन्न प्रोपोगाण्डा अपनाएर त्यसलाई ढाकछोप गर्ने र आफुलाई केहि पनि थाहा छैन भन्दै जवाफ दिने गरेको ढकालको दाबी छ । पहिले पदबाट बर्खास्त गरेर स्पष्टिकरण सोध्ने अनि चित्त नबुझेको भन्दै पार्टीको सदस्यसमेत नरहने गरी हटाउने प्रवृत्तिले रास्वपालाई राजनीतिको ओरालो तर्फ धकेली रहेको विश्लेषकहरूको बुझाई छ । अहिले सुदुरपश्चिमका महामन्त्री बाहुनलाई पनि पार्टीको हित बिपरित काम गरेको भन्दै पार्टीबाट बर्खास्त गरिएको छ । बर्खास्त भएका बाहुनलाई सुरुमा स्पष्टिकरण सोधिएको र स्पष्टीकरणमा बाहुनले दिएको जवाफ सन्तोषजनक नरहेको भन्दै पार्टीको धारा र उपधारा बमोजिम कारबाही गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय महामन्त्री मुकुल ढकाल बर्खास्त भएलगत्तै सो पार्टीका सुदूरपश्चिम महामन्त्री पारस बाहुनलाई पनि बर्खास्त गरिएको छ । रास्वपा सुदूरपश्चिम कार्यसमितिका सभापति प्रकाश विष्टले एक विज्ञप्तिमा जारी गर्दै बाहुन पदमुक्त भएको जानकारी गराएका हुन् । उनलाई बिहीबार पदमुक्त गरिएको हो ।
बाहुनले नेतृत्वलाई असफल बनाउन भूमिका खेलेको भन्दै पदमुक्त गरिएको सभापति विष्टले जानकारी दिए । ‘यहाँले पछिल्लो समयमा सङ्गठन र नेतृत्वलाई असहज ः असफल बनाउने विविध क्रियाकलापहरू गर्नु भएको हुँदा सोबारे स्पष्टीकरण सोधिएकोमा उक्त स्पष्टीकरण पत्रको जवाफ सन्तोषजनक नभएको हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीको विधान २०७९ को धारा ३० को उपधारा १ को (ग) र दोस्रो संशोधन विधानको भाग ७ धारा २८ उपधारा १ को (ट) बमोजिम यहाँलाई आजको मिति २०८१(०५( १३ गते बिहीबारका दिनदेखि प्रदेश महामन्त्री पदको जिम्मेवारीबाट मुक्त गरिएको ब्यहोरा जानकारी गराउँदछु‚’ विज्ञप्तिमा लेखिएको छ ।
कारबाही गर्नुअघि प्रदेश समितिले २१ बुँदे कारण देखाउँदै ७२ घण्टे स्पष्टीकरण सोधेको थियो । महामन्त्री बाहुनले पनि भदौ ११ गते नै २१ बुँदे जवाफ फर्काएका थिए ।