प्रहरी भन्दै लुटपाट गर्ने युवक पक्राउ

2.22K
shares

आफुलाई प्रहरी निरीक्षक (इन्सपेक्टर) हुँ भन्दै लुटपाट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटका  २५ वर्षीय सुमन तामाङ भनिने मिङमार तामाङ र बाग्लुङका  ६३ वर्षीय बलबहादुर सुनार हुन्। उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

सुमनले आफू प्रहरी वृत्त स्वयम्भूको सादा पोशाकको इन्सपेक्टर भएको बताउँदै लुटपाट गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा एसपी काजीकुमार आचार्यले जानकारी दिए ।

साउन २२ गते सुमनले काभ्रे घर भई डल्लुमा बस्दै आएका तीर्थलाल तमााङकाे १ तोलाको सुनको सिक्री र नगद ६७ हजार लुटेकाे प्रहरीले बताए । लुटपाट भएपछि तीर्थलालले प्रहरीमा निवेदन दिएका थिए ।

गोंगबुमा बाग्लुङ भगवती सुनचाँदी पसल सञ्चालक बलबहादुरलाई सुमनले लुटेकाे सुनको सिक्री बेचेपछि उनलाई पनि प्रहरीले पक्राउ गरेको हो ।

लुटपाटमा प्रयोग गरिएकाे  मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ । मोटरसाइकलकाे नम्बर प्लेट समेत नक्कली हालेको खुलेको छ ।

सुमनले नाममा लुटपाट गरेको भन्दै ८ वटा उजुरीसमेत परेको एसपी आचार्यले बताए ।