‘सरकारले छाडा गीत संगीतको नियन्त्रण गर्न सकेन’: लोकगायक रामप्रसाद खनाल
वि.सं.२०८१ भदौ १५ शनिवार ०५:२४
shares

कलाकारहरुले लोकप्रिय हुने होइन, लोकको प्रिय हुन जान्नुपर्छ । दर्शकहरुले पनि अपाच्य, विकृतिपूर्ण गीतहरुलाई होइन, मौलिकतालाई संरक्षण गर्ने गीतहरुमा गाउन सल्लाह दिनुपर्छ । सोही अनुसार ग्रहण गर्नुपर्छ ।
रामप्रसाद खनाल
वरिष्ठ लोकगायक एवम संचारकर्मी
हिजोआज कलाको नाममा चर्तिकला देखाउनेहरु धेरै छन्
कलाकारहरुले कला देखाउने हो चर्तिकला होइन
दोहोरी भनेर फोहोरी गीत गाउने चलन बढ्न थाल्यो
‘सरकारले छाडा गीत संगीतको नियन्त्रण गर्नै सकेन’
करिब दुई दशकदेखि अमेरिका बस्दै आएका रामप्रसाद खनालको पृथक परिचय छ । बरिष्ठ लोकदोहोरी गायक एवम संचारकर्मीका रुपमा उनी परिचित त छँदैछन् त्यसबाहेक उनी एक सक्रिय समाजसेवी र व्यवसायी पनि हुन् । नेपालमा संकट पर्दा वा कोही नेपालीलाई दुःख पर्दा खनाल नेतृत्वको टीमले सक्रियता देखाउँछ र मनकारी भावनाले सहयोग जुटाउँदै आएको छ ।
सोही सक्रियताका कारण खनाललाई अमेरिकाका राष्ट्रपतिद्वारा प्रदान गरिने ‘लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त भइसकेको छ । लोकलय र लोकभाकामा आधारित ५२ गीतिसंग्रह तथा विभिन्न विषयमा लेखिएका १८ पुस्तक प्रकाशित गरिसकेका उनी अन्तर्राष्ट्रिय कलाकार मञ्चको अध्यक्षको जिम्मेवारीमा पनि छन् । स्वदेश एवम विदेशमा लोक दोहोरीको प्रचलन भित्र्याउन नेतृत्वदायी भूमिका निर्वाह गरेका खनाल हालै नेपाल आएका बेला नेपाल न्यूज बैंकले कुराकानी गरेको छ ।
अमेरिका बस्नुहुन्छ, अमेरिकाका शहरहरुमा नेपाली गीत संगीतको अवस्था कस्तो छ ?
अमेरिकामा नेपाली गीत संगीत नेपाली समूदायमाझ पहुँच हुने कुरा स्वभाविक नै भयो । तर अमेरिकनहरुलाई हाम्रो लोक संस्कृति र गीत संगीतबारे धेरै आकर्षित गर्न सकेका छैनौं । त्यहाँ अझै हाम्रो पहुँच पुग्न सकेको छैन् । तर हाम्रो कार्यक्रमहरुमा अमेरिकनहरु आउने गरेका छन् । गीत संगीत सुन्छन्, रमाउँछन् । त्यो दृश्य देख्दा चाँही नेपाली गीत संगीतले पनि विदेशीहरुलाई पनि छुन्छ भन्ने लाग्छ ।
नेपाली कलाकारहरुको उपस्थिति र प्रश्तुतीले चाहीं कस्तो प्रभाव जमाएको छ ?
अमेरिकाका शहरहरुमा नेपाली समुदायले जे गरेतापनि राम्रो प्रतिक्रिया आउने गर्छ । म १८–१९ वर्ष अघि अमेरिका पुग्दा र हालको अवस्था हेर्दा धेरै नै भिन्नता देख्छु । पहिला हामी एकदमै सिमित थियौं, अहिले बृहत भइसकेका छौं । लगभग ५०–६० जना नाम चलेका र अन्तर्राष्ट्रिय रुपमा पनि परिचित भएका कलाकारहरुको अमेरिकामै छौं । नयाँ कलाकारहरु पनि जाने क्रम बढ्दो छ । समुदायको हरेक कार्यक्रममा नेपाली गीत संगीत र कला संस्कृतिको सक्दो पहुँच विस्तार गर्न हामी दृढ भएर लागिरहेका छौं ।
तपाइँ चाहीं अमेरिकामा के गर्नुहुन्छ ?
गीत संगीतमा सक्रियता जारी छ । पत्रकारिता पनि जारी राखेको छु । एउटा ‘नेपालमदर डटकम’ भन्ने मिडिया संचालनमा ल्याएको छु । विभिन्न व्यापार व्यवसायमा पनि सक्रियता बढाएको छु । खनाल विजिनेस ग्रुप मेरो आफ्नै छ । अन्य विभिन्न व्यापारिक समूहसँग मिलेर काम गरिरहेको छु । बाँच्नका लागि विभिन्न व्यवसायिक क्षेत्रमा क्रियाशील छु ।
यस्तो व्यस्तता रहँदा गीत संगीत र अन्य सिर्जनाका लागि समय व्यवस्थापन कसरी मिल्छ ?
म अमेरिका बसेपछि पनि हरेक वर्षजसो लोक, दोहोरी, आधुनिक गीत, भजन र गजलहरु लेखिरहेको हुन्छु । गीत गाउन र कृति प्रकाशन गर्न समय व्यवस्थापन गर्छु । एल्बमहरु निकाल्छु । म जस्तै अन्य कलाकारहरुले पनि त्यसलाई निरन्तरता दिइरहेका छन् । नेपाली गीत गाएरै अमेरिकामा बाँच्न चाँही सकिँदैन् । रोजगारी वा आफ्ना बिजनेसहरुमा संलग्न त हुनैपर्छ । त्यसको साथसाथै गीत संगीतलाई पनि निरन्तरता दिइराखेका छौं ।
अन्तर्राष्ट्रिय कलाकार मञ्च चाहीं किन र के का लागि स्थापना गरियो ?
अन्तर्राष्ट्रिय आर्टिस्ट फोरम (अन्तर्राष्ट्रिय कलाकार मञ्च)चाही एक दशक अघि नै स्थापना गरेका हौं । त्यसको संस्थापक र अध्यक्ष म नै छु । अमेरिकाका बिभिन्न शहरहरुमा शाखाहरु छन् । संसारका ३५ वटा देशमा देश स्तरीय शाखाहरु छन् । संस्थामा नेपाली कलाकारहरुको संख्या बढी छ भने विदेशी कलाकारहरु पनि आवद्ध छन् । विशुद्ध कलाकारिता वा गीत संगीत र साहित्यका लागि संस्था स्थापना गरेको हौं ।
नेपालमा संकट पर्दा वा भूकम्प जाँदा सबैभन्दा पहिला प्रतिक्रिया दिने संस्था पनि अन्तर्राट्रिय कलाकार मञ्च थियो र छ । भुकम्प गएको तेस्रो दिन त हामीले सहयोग पठाइसकेको थियौं । फिल्डमा कलाकारहरु खटाएर भूकम्प प्रभावित ठाउँहरुमा रासन, लत्ता कपडा वितरणदेखि आर्थिक सहयोगको जोहो गर्ने काम गरेका थियौं । ठूलो रोग लागेर जीवनमरण समस्यामा परेका सयौं पीडितलाई सहयोग गरेका छौं । नेपाल बाहिर रहँदा होस या स्वदेशमै रहँदा होस विपत र संकटमा हामीलाई छुन्छ र दुख्छ । यस्तोबेला संस्था आवश्यक पर्छ भनेर जन्माएका हौं ।
हिजोआजको तीज गीतको भाका र शैलीलाई कुन रुपमा लिनुभएको छ, विगत र वर्तमानमा के भिन्नता छ ?
पहिला पहिला हामी तीजका गीतमा मौलिकता पाउथ्यौं । वर्षभरी घटेका घट्नाक्रमहरुलाई गीतमा लेखेर, सोही अनुसार महिला पुरुष सँगै गाउने, सँगै नाच्ने, सँगै बजाउने चलन थियो । अहिले चाँही विस्तारै झ्याउरे र आधुनिक गीतलाई तीजसँग गाँसेर आधुनिक जस्तो बनाउने चलन चलेको छ । हामीले के बुझ्नुपर्छ भने कुनैपनि गीत तीज पर्वको बेलामा निकाल्दैमा तीजको गीत हुँदैन् । दुःखका साथ भन्नुपर्छ कलाको नाममा अहिले चर्तिकला देखाउनेहरुको हावी भएको देखिन्छ । कलाकारहरुले कला देखाउने हो चर्तिकला देखाउने होइन् । यो कुरा मैले व्यक्तिगत रुपमा पनि भन्दै आएको छु ।
देशमा लोक, दोहोरी र सांस्कृतिक गीतहरुको लागि योगदान दिएको मान्छे भएका कारणले मैंले यसबारेमा बोल्नैपर्छ । गीत संगीतले फड्को त मारेको छ तर विकाससँगै हामी विनाशको बाटोतर्फ पनि गइरहेका छौं । विकृतीतर्फ गइरहेका छौं । जुन एकदमै दुखद छ ।
म फेरिपनि कलाकारहरुले कला देखाउने हो चर्तिकला देखाउने होइन भन्न चाहन्छु । एकैछिन भाइरल भएर केही हुनेवाला छैन् । लोकप्रिय हुने होइन, लोकको प्रिय हुन जान्नुपर्छ । दर्शकहरुले पनि यस्ता अपाच्य, विकृतीपूर्ण गीतहरुलाई होईन, मौलिकतालाई संरक्षण गर्ने गीतहरुमा गाउन सल्लाह दिनुपर्छ र सोही अनुसार ग्रहण गर्नुपर्छ ।
तर हिजोआज मान्छेहरुले अलिअलि त चर्तिकला नै रुचाउन थालेका छन् नि होइन ?
अहिले के भएको हो थाहा छैन् । तर मान्छेहरुलाई त्यस्तै अपाच्य गीतहरु मनपर्न थालेको छ । हामी बसेर विषय र मुद्दामा माथि गरेको कुराकानी वा वहस चल्दैन । तर नचाहिने, अनावश्य कुरा गर्ने हो भने त्यस्तो भिडियो धेरैले हेर्छन् । यसको मतलब के भने मिडियाकर्मीदेखि अन्तर्वार्ता दिने, नेता, जनता, कलाकार सबै सस्ता हुन थाल्यौं । यस्तो बेला देश कता जादैँछ भनेर सोच्नुपर्ने बेला आएको छ । गलत बाटो बन्द गरेर कुनैपनि राम्रो बन्नेतर्फ लाग्नु श्रेयकर हुन्छ । राम्रो मान्छेलाई युगौं युगसम्म खोजी हुन्छ ।
मैंले रेडियो नेपालमा ३५ वर्ष अगाडि गाएका गीतहरु अझै किन खोजी भइरहेको छ, बुझनपर्छ । नेपाल टेलिभिजनमा चलाएका कार्यक्रम, गाएका गीत खोजी भइरहेको हुन्छ । राम्रा गीतहरु पनि खोजी हुनु भनेको गीत बाँचिरहनु हो । तर अहिले त ‘बिस्ताराले पोल्यो’रे के के हो के के । ‘बिहे अगाडि दिन्न बरी लै..’रे, त्यो भनेको के हो ? यस्तो पनि हुन्छ ? अनि त्यस्तै छाडा गीत चल्छ पनि । मेरा कलाकार भाइ बहिनीहरुलाई म के पनि भन्न चाहन्छु भने गीत गाउनु भन्दा अगाडि गीतको स्क्रिप्ट माग्ने, हेर्ने र अध्ययन गर्नुहोला ।
म एक लोक गायक हो, त्यो भनेको लोकको गायक, लोक भनेको समाज, जनता हो । लोकले मन पराउने गीत गाउने हो । तीज गीत गाएपनि वा दोहोरी गीत भएपनि । दोहोरी भनेर फोहोरी गीत गाएको पाइन्छ । बिजोग छ अवस्था । तर यति भनिरहँदा राम्रा गीतहरु पनि आएका छन् । राम्रो पनि भइरहेको छ । गीत संगीतको विकास पनि भइरहेको छ ।, गीत छनोट गरेर अघि बढ्नुपर्छ । कलाकार र दर्शक वा स्रोतहरु सुध्रिनु पर्छ ।
नेपाल र प्रवासमा मेला, महोत्सवहरु भइरहेका हुन्छन । त्यहाँ कलाकारहरुलाई निम्ता गरिन्छ । यस्ता कार्यक्रमले कलाकार र नेपाली संगीतलाई कस्तो टेवा पुर्याएको छ, विदेशको अवस्था कस्तो छ ?
म संसारका ४५ वटा देशमा कलाकार र पत्रकारको रुपमा गएको छु । कार्यक्रमहरु पनि गरेको छु । त्यहाँ जाँदा कहीं कतै कुनैपनि नेपाली समाजमा अपमान भएको महशुस गर्नुपरेको छैन् । अपमानित हुने खालको गीत लेखेको र गाएको पनि छैन् । त्यसकारण सबैले माया गर्नुभएको जस्तो लाग्छ । नेपाल वा अरु देशमा हुँदा सबैले माया गर्नु भनेको नै मेरो कमाइ हो । अपमानित त्यो कुरालाई गरिन्छ जहाँ अपमानित हुने खालको काम गरिन्छ । त्यसकारणले हरेक कलाकारहरुले आफू अपमान नहुने प्रकारको काम गर्नुपर्छ ।
नेपालबाट स्टेज शो गर्न जानेहरुलाई यति पैसा दिने भनेर तोकिएकै हुन्छ । खाने, बस्ने व्यवस्था भइहाल्छ । धेरै ठूलो अपेक्षा राख्नु हुँदैन् । नेपालीहरुको सानो समुदाय छ । चार पाँच सयको बीचमा कार्यक्रम गर्दा अलग्गै होला । तथापी पहिलेभन्दा अहिले राम्रो हुँदै गएको छ । अहिले बिना पारिश्रमिक कसैले पनि बोलाउँदैनन् । पारिश्रमिक प्राप्त हुन्छ । राम्रै छ ।
हजुरका गीतहरु चाहीं कस्तो शैली वा भाकामा छन् । विधा कुन हो ?
म लोक गायक हुँ । मेरा अधिकांश लोक गीतहरु छन् । दोहोरी गायक भएको कारणले मेरा अधिकांश गीतहरु लोक दोहोरी हुन्छन् । लोक र दोहोरी मेरो आफ्नो विषेशज्ञता हो । तर, म भजन पनि गाउँछु, गजलहरु पनि छन् । तीज गीत नि छन् । रेडियो नेपालमा हुँदा होस् या नेपाल टेलिभिजनमा हुँदा होस् अथवा म पत्रकार हुँदा नै किन नहोस् मैंले सधैं आफ्नो नेपालीपन, नेपाली संस्कृति, नेपाली पहिचान, रितिरिवाज, अनुशासन र मर्यादा ख्याल गर्दै गीत लेख्दै र गाउँदै आएको छु । अमेरिकामा १८ वर्ष अगाडि म पुग्दाखेरी त्यहाँ तीज आएको पत्तो हुँदैनथियो, पात्रो पल्टाएर हेर्नुपर्ने स्थिति थियो । म गएको वर्षदेखि तीज महोत्सव सुरु गरियो । महोत्सव अहिले अमेरिकाका हरेक राज्यहरुमा हुने गरेको छ ।
तपाईले आवाज भर्नुभएको गीतहरुको संख्या कतिजति पुग्यो ?
करिब एक हजार दुई सय गीत कट्यो होला । लोक, दोहोरी, भजन, गजल गरेर एक हजार दुई सय गीतहरु पुगेका छन् । एक हजार पाँच सय बढी कविता लेखेको छु । अहिलेसम्म मेरो १८ वटा किताबहरु प्रकाशन भएका छन् । ५२ वटा एल्बमहरु प्रकाशन भएका छन् । गीत संगीतमा मैंले जीवनका चार दशक विताइसकेको छु । नेपालमा कलाकारहरुको स्थान निर्धारण गर्ने भनेको रेडियो नेपालले हो, म रेडियो नेपालको विशिष्ट श्रेणीकै गायक हुँ । सरकारको तर्फबाट कलाकार तथा गायकहरुको स्तर निर्धारण गर्दा मलाई विशिष्ट श्रेणीमा राखिएको छ ।
नेपाली गीत संगीतलाई सरकारको तर्फबाट सहयोग र प्रोत्साहन कस्तो हुनुपर्ला ?
सरकारले सबै कुरा नियन्त्रण गर्न सक्छ त म भन्दिन । तर सरकारी निकायहरुले कानुन स्पष्ट नभएर हो अथवा त्यसको कार्यान्वयनको पाटो फितलो भएर हो छाडा गीत संगीतको नियन्त्रण गर्न सकिरहेका छैनन् । यसको नियन्त्रण कसले गर्ने त ? एनजिओ आइएजीओ आएर त गर्ने होइनन् । सरकार वा उसको मातहतका निकायले गर्ने हो । सरकारी निकायले गर्ने हो भने क्ुन निकायले कसरी गर्ने भन्ने स्पष्टता अझै भइसकेको छैन । व्यवहारमा अझै ति कुराहरुको समस्या देखिन्छ । चलचित्रको क्षेत्रमा काम गर्ने चलचित्र विकास बोर्ड भनेजस्तै गीत संगीतको पनि एउटा बोर्ड बन्दा राम्रो हुन्छ भन्ने लाग्छ ।
समग्र कलाकारहरुको आर्थिक अवस्था वा आम्दानीको मूल्यांकन चाहीं कसरी गर्नुहुन्छ ?
अहिले सिमित कलाकार चलेका छन वा रुचाइएका छन् । जसलाई स्टुडियो गीत रेकर्ड गराउन टाइम लिनुपर्छ । सबैको त्यस्तो अवस्था छैन । कमाउनेको संख्या दुईतीन प्रतिशत होला । आम कलाकारहरुको स्थिति सजिलो चाँही छैन । तैपनि मेला महोत्सव वा देश विदेशका कार्यक्रमले राम्रै गरेको छ । २०५३ सालमा बुटबलमा भएको औद्योगिक प्रदर्शनीमा लोक दोहोरीलाई प्रवेश गराएका थियौं । म आफैं पनि त्यहाँ सहभागी थिएँ । त्यसपछि लोक दोहोरी गीतहरुलाई पनि मेला महोत्सवमा गाउन सुरु भएको हो । म नेपाल छँदै कयौं मेला महोत्सवहरुमा उद्घाटन गरेर प्रस्तुती दिइन्थ्यो । आज पनि मेला महोत्सवहरु त्यही लोक दोहोरी गीतहरुका कारणले चल्ने गरेको छ ।
तीज आउनै लाग्यो, यसपाली तपाईको स्वरबाट तीज गीत सुन्न पाइँदैन् ?
हाम्रो समूहले चार वटा तीजका गीत गरेका छौं । चारमध्ये दुईवटा गीतहरु रिलिज भइसकेका छन् । अन्य गीतहरु पनि छिट्टै रिलिज गर्ने तयारीमा छौं । तपाईले कुनैपनि मेरा गीत संगीतहरु हेर्नुभयो भने परिवारका सबै सदस्यहरुसँगै बसेर आनन्दले हेर्ने र सुन्न सकिन्छ । मैंले गाएका तीजका गीतहरुमा चाँही देशको परिस्थिति चित्रण गरिएको छ ।
कस्ता तीज गीत गाइन्थ्यो पहिला
हेर अहिले कस्ता भए ।
सुन्न, हेर्न लाजै लाग्ने साह्रै सस्ता भए ।
देशमा भइरहेका छाडा गतिविधिहरु, घटनाक्रम कला क्षेत्रमा मौलाइरहेको छाडापनको बारेमा मौलिक भाकामा ढालेर तीज गीतको गरिमा बढ्ने गरेर गाउने प्रयास गरेको छु । म सम्पूर्ण दर्शकहरुलाई समेत यस्तै मौलिक भाकाहरुलाई माया गरिदिनहुन आग्रह गर्न चाहन्छु ।













