रविले भने– ‘तीन वर्ष बाँडीचुँडी खालान्, ०८४ मा त घण्टी बज्छ बज्छ’

‘घन्टी बोकेर मात्रै जितिँदैन, जनताको एजेन्डा बोक्नुपर्छ’

1.01K
shares

‘घन्टी बोकेर मात्रै जितिँदैन, जनताको एजेन्डा बोक्नुपर्छ’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिलेको गठबन्धनबाट केही आशा गर्न नसकिने बताएका छन्।

पार्टीको कर्णाली प्रदेश भेलालाई शनिबार वीरेन्द्रनगरमा सम्बोधन गर्दै सभापति लामिछानेले हदै भए तीन वर्ष बाँडीचुँडी खानेबाहेक अहिलेको गठबन्धनले केही नगर्ने बताएका हुन्।

‘अनुभवी लुटेराको गठबन्धनबाट केही आशा गर्न सकिँदैन, परिवर्तन केही हुने छैन। हदै भए बाँकी तीन वर्ष बाँडिचुँडी खानुहोला, २०८४ मा त घण्टी बज्छ(बज्छ,’ उनले भने।

सभापति लामिछानेले कर्णालीले जित्नका लागि रास्वपाले जित्नुपर्ने पनि बताए।

‘दलको उम्मेदवारले जित्ने होइन, कर्णालीले जित्नुपर्छ। कर्णालीले जित्नका लागि रास्वपाले जित्नुपर्छ,’ उनले भने।

तर घन्टी बोकेर मात्रै नजितिने पनि कार्यकर्ताहरूलाई सभापति लामिछानेले बताए।

‘पार्टीमा पहिला लागेको भनेर अवसर पाइन्नँ। प्रतिस्पर्धामा जो अब्बल हुन्छ, उसैले अवसर पाउँछ। घण्टी बोकेर मात्र जितिँदैन, जनताका एजेण्डा बाक्नुपर्छ,’ उनले भने।

ठूला दलहरूले रविलाई सिध्याउन सके रास्वपा सकिन्छ भन्ने सोचेको भए त्यो असम्भव रहेको पनि उनले बताए।

‘२०७९ मा झिल्को बन्यौं, २०८४ मा राँको बनेर आउँछौं,’ उनले भने।

सहकारीको विषयमा लामिछाने आफूले कुनै कमजोरी नगरेको पनि दाबी गरे।

‘हुँदै नभएको प्रमाण १२र१४ महिना खोज्दा भेटेनन्। भेटेका भए किन छाड्थे। अझै डाम्न सकिन्छ कि भन्ने प्रयासमा छन्। तर, सक्दैनन् । किनकी, मैले कुनै कमजोरी गरेको छैन’ उनले भने।