“साझा मुद्दामा भड्काउने गतिविधि र चरित्र हत्या : ब्लु डायमण्ड सोसाइटीको आपत्ति”
वि.सं.२०८१ भदौ १६ आइतवार १०:१९
shares

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको क्षेत्रमा कार्यरत संस्था नील हिरा समाज (ब्लु डायमण्ड सोसाइटी)का पदाधिकारीहरूले समुदायका साझा मुद्दामा समर्थन गर्नुको सट्टा भड्काउने गतिविधि बढेकोमा चिन्ता व्यक्त गरेका छन् ।
‘आफूलाई अब्बल अभियन्ता र ज्ञाता भएको ठान्ने व्यक्तिहरूले समुदायका साझा मुद्दालाई भाँड्ने, जिम्मेवार पदाधिकारीलाई हिलो छ्याप्ने, समुदायका व्यक्तिहरुको मनस्थिति खल्बल्याउने र अनर्गल प्रचारमा उत्रिने जस्ता गतिविधिहरू गरिरहेका छन्,’ ब्लु डायमण्ड सोसाइटीका कार्यक्रम संयोजक संजय शर्माले भने– ‘हाम्रै संस्थाको अगुवाइमा अढाई दशकदेखि लडेर महत्त्वपूर्ण अधिकारहरू सुरक्षित भएका छन् । तर, महत्वपूर्ण मुद्दाहरू अझै स्थापित भइसकेका छैनन् । नागरिकताका सवालमा सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन भएको छैन । पहिचान र अधिकारको लडाइँ अझै बाँकी छ, तर यहाँ अग्रज अभियन्ताहरूबाट मिडियामा भ्रम फैलाउने काम भइरहेको छ । यसमा सचेत रहनुहोस् ।’
ब्लु डायमण्ड सोसाइटीकी अध्यक्ष पिंकी गुरुङले प्रतिनिधि सभाजस्तो सम्मानित सदनमा सांसदहरूले मुद्दाबारे नबुझी अभिव्यक्ति दिएकोप्रति आपत्ति प्रकट गरिन् । उनले सर्वोच्च अदालतले स्व अनुभूतिका आधारमा नागरिकता दिने आदेशको कार्यान्वयन गर्न माग गरिन् ।
‘समुदायका व्यक्तिहरूको वास्तविक र व्यवहारिक समस्या नबुझी केही अभियन्ताहरूको सुझावलाई आधार मानेर संसदमा अभिव्यक्ति दिँदा त्यसले निम्त्याउने जोखिमका बारेमा माननीयहरूले बुझ्नुपर्छ । यौनचेन्ज र हर्मोनथेरापीको बारेमा वास्तविक अध्ययन गरेर समुदायका व्यक्तिहरूसँग बुझेर मात्र अभिव्यक्ति दिनुपर्छ । संवेदनशील विषय भएकाले सदनमा धारणा राख्दा प्रशस्त अध्ययन गर्न सुझाव दिन्छु ।’ अध्यक्ष गुरुङले भनिन् ।
उनले आफ्नो चरित्र हत्या गर्ने मनसायले एकतर्फी रूपमा आइरहेको समाचारप्रति खण्डन गरिन् ।
‘केही अभियन्ताहरूको निर्देशनमा समाचार बनाइने र चरित्र हत्या गर्ने तथा समुदायका मुद्दाहरूलाई गलत परिभाषा दिने गरिएको पाइन्छ । यसले समुदायको अधिकार स्थापनामा गम्भीर असर पुगिरहेको छ । प्रकाशन भएका समाचारहरूमा कुनै सत्यता र सन्तुलन नभएकाले वास्तविकता बुझ्न आग्रह गर्दछु,’ उनले भनिन् ।
अध्यक्ष गुरुङले पहिचान व्यक्तिको स्वाभिमान र स्वतन्त्रताको विषय भएकाले व्यक्तिले आफ्नो अनुभूतिका आधारमा आफ्नो पहिचान स्थापित गर्न राज्यले सहयोग गर्नुपर्ने बताइन् ।
सर्वोच्च अदालतले २० कार्तिक २०८० मा लैङ्गिक पहिचान ‘अन्य’ राख्नुपर्ने बाध्यता नहुने नागरिकता लगायतका कागजातमा लैङ्गिक पहिचान उल्लेख गर्न आदेश दिएको भएपनि कार्यान्वयनमा सरकारी पक्षले विभिन्न झमेलाहरू गरिरहेको उनले बताइन् । गत १४ साउनमा सो आदेशको पूर्णपाठ सार्वजनिक भएको थियो ।
प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ र न्यायाधीश कुमार चुडालको इजलाशले सो आदेश दिएको थियो । तर अदालतको आदेशको कार्यान्वयन भने भएको छैन ।
सर्वोच्चको सो आदेशमा व्यक्तिले आफ्नो अनुभूतिका आधारमा महिला वा पुरुष लेख्न पाउने उल्लेख छ । अर्थात्, सुरूमा महिला भएर जन्मिएका व्यक्तिले पछि पुरुषका रूपमा र पुरुष भएर जन्मिएका व्यक्तिले पछि महिलाका रूपमा नागरिकता लिन पाउने र सरकारी कागजात सच्याउन पाउने आदेश दिएको थियो ।
अभियन्ता भक्ति शाहले ब्लु डायमण्ड सोसाइटीबाट बाहिरिएका केही अभियन्ताहरूले नै साझा मुद्दालाई बिथोल्न लागेको बताए । उनले मुद्दा केन्द्रित पनि व्यक्तिको चरित्र हत्या गर्ने र मुद्दामाथि अपव्याख्या वा गलत परिभाषा दिने क्रम रोक्नुपर्ने धारणा राखे । विभिन्न सञ्चारमाध्यममा आयोजित करिब २० पत्रकारहरूसँगको अन्तरक्रियामा उनले त्यस्तो धारणा राखेका हुन् ।













