एमाले नेता पोखरेलले बालेनलाई दिए दल खोलेर प्रतिस्पर्धा गर्न चुनौती
वि.सं.२०८१ भदौ १९ बुधवार ११:२२
shares

नेकपा (एमाले) का केन्द्रीय सदस्य कृष्णभक्त पोखरेलले अहिले केपी शर्मा ओलीलाई अनपपुलर गराउन खोजिएको बताएका छन् ।
बुधबार काठमाडौंमा भएको एक समसामयिक राजनीतिक घटनाक्रमका विषयमा आयोजना गरेको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ता प्रकारको भाष्यबाट सचेत हुनुपर्ने बताएका हुन् ।
काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह लक्षित गर्दै उनले भने, ‘अहिले जबरजस्तरुपमा भाष्य निर्माण गर्न खोजिँदैछ कि केपी ओली अनपपुलर भन्ने भाष्य निर्माण गर्न खोजिएको छ । हामी त्यसो चाहँदैनौं । लोकतन्त्रमा सबै फूलहरु फुल्न पाउनुपर्छ, हाँस्न पाउनुपर्छ भन्ने कुरा हो ।’
नेता पोखरेलले लोकतन्त्रको विकल्प लोकतन्त्र नै हुने र एउटा दलको विकल्प अर्को दल हुने बताए । उनले काठमाडौं महानगरपालिका प्रमुख शाहलाई स्वघोषित पपुलरको संज्ञा दिँदै दल खोलेर एमालेसँग प्रतिस्पर्धा गर्न आउन चुनौति दिए ।
उनले भने, ‘लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो । एउटा दलको विकल्प अर्को दल हुनसक्ला । अरु साथीहरु आफूलाई स्वघोषित पपुलर भन्नुभएको छ, उहाँहरुले नि गरेहुन्छ नि त । दल खोलेर हामीसँग प्रतिस्पर्धामा आए हुन्छ । त्यो प्रतिस्पर्धाबाट जनताबाट अब्बल साबित भयो भने, आवधिक निर्वाचन प्रणाली लोकतन्त्रको सुन्दरता हो, हामी तयार छौं ।’
साथै, प्रधानमन्त्री ओलीले बालेनलाई सहयोग नै गर्न चाहेको भन्दै बालेन भने ओलीविरुद्ध लगातार नेगेटिभ ढंगले प्रस्तुत भइरहेको उनको भनाइ छ ।
एमालेका कुनै पनि नेता, सांसदहरुले अपराध गर्छ भने उनीहरुलाई दण्डित गर्न कसैले नरोक्ने पनि उनले बताए ।













