तडकभडक तरिकाले तीज नमनाउन महिला कर्मचारीहरुलाई मन्त्री काफ्लेको आग्रह

1.78K
shares

 बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दन राज काफ्लेले तडकभडक तथा खर्चिलो तरिकाले तीज नमनाउन मन्त्रालयका महिला कर्मचारीहरुलाई आग्रह गरेका छन् ।

हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा महिला कर्मचारीहरुलाई लक्षित गर्दै मन्त्रालयले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री काफ्लेले अनुशासित ढंगले पर्व मनाउन आग्रह गरेका हुन् ।

‘विगतको तुलनामा हालका वर्षहरुमा तीज मनाउने क्रममा अनावश्यक तडकभडक सहितका खर्चिला कार्यक्रम बढ्दै गएको देखिएको छ’, मन्त्री काफ्लेले भने, ’हाम्रो परम्परा जोगाउने हामीले नै हो । त्यसैले अर्थ मन्त्रालयको कर्मचारीले देशमा देखिएको आर्थिक संकटलाई मध्यनजर गर्दै  अनुशासित र तडकभडक बिना तिज मनाउँदा सर्वसाधारणमा राम्रो सन्देश जान्छ ।’

कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कृष्ण मैनाली, उपसचिव मौसम ढुंगेल, मन्त्रीका निजी सचिव अनुप अधिकारीलगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।