रमाइलाे गर्न मामाघर गएका तीन बालकहरुकाे पोखरीमा डुबेर मृत्यु

रमाइलाे गर्न मामाघर गएका तीन बालकहरुकाे पोखरीमा डुबेर मृत्यु

1.51K
shares

मामाघर सबैकाे प्रियस्थान हाे, त्यसमाथि पनि बालबालिकाका लागि त झन् खुसी साट्ने सर्वाेत्तम ठाउँ हाे मामाघर । कति रमाएका थिए हाेला मावलीघरमा भोज खान गएका ती बालकहरु । तर
धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर ७ लक्ष्मीनियामा रहेको पोखरीमा खेल्ने क्रममा तीनजना बालकको डुबेर मृत्यु भएको छ । डुबेर आज साँझ उनीहरूको मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहले जानकारी दिए ।

मृत्यु हुनेमा १० वर्षीय आदित्यकुमार साह, नौ वर्षीय आयुष साह र १४ वर्षीय सुशान्त साह छन् ।

मावलीतर्फका हजुरबुबा महावीर साहको घरमा भोज खान पुगेका बालकहरू नजिकैको पोखरीमा पौडी खेल्न जाँदा डुबेको आशंका गरिएको छ । मृतक बालकहरू साहका तीनवटा छोरीका छोरा रहेको बताइएको छ ।

साँझ करिब ७ः३० बजेतिर पोखरीमा बालकको शव भेटिएको र सबै जना भोजमा व्यस्त रहेका बेला पौडी खेल्न गएका बेला मृत्यु भएको हुन सक्ने आशंका गरिएको वडाध्यक्ष गंगा साहले जानकारी दिए ।

तीनै जनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।