आज मानव बेचबिखन विरुद्धको १८औँ राष्ट्रिय दिवस : प्रधानमन्त्री ओलीद्वारा शुभकामना व्यक्त

1.27K
shares

आज प्रधानमन्त्री केपी शर्मा ओलीले मानव बेचबिखन विरुद्धको १८औँ राष्ट्रिय दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ। ‘तीनै तहका सरकारको प्रतिबद्धता : मानव बेचबिखन विरुद्ध सबैको ऐक्यबद्धता’ भन्ने नाराका साथ मनाउन लागिएको मानव बेचबिखन विरुद्धको १८औँ राष्ट्रिय दिवसका अवसरमा प्रधानमन्त्री ओलीले शुभकामना व्यक्त गर्नुभएको हो।

मानव बेचबिखन तथा ओसारपसार मानव सभ्यता कै कलङ्क र जघन्य अपराध हो। समय क्रमसँगै मानव बेचबिखन तथा ओसारपसारको प्रकृति, स्वरूप र गन्तव्यमा निरन्तर परिवर्तन पाइएको उहाँले बताउनुभयो। नेपालबाट कामको खोजीमा वैदेशिक रोजगारीका लागि सरकारले प्रतिबन्ध लगाएका मुलुकहरूमा घरेलु कामदारका रूपमा जाने क्रममा अधिकांश महिलाहरू बेचबिखनमा पर्नुका साथै मनोरञ्जनात्मक क्षेत्रमा काम गर्ने किशोरीहरू समेत मानव बेचबिखनका दृष्टिले बढी जोखिममा रहेको शुभकामना सन्देशमा ओलीले बताउनुभएको छ।

बालबालिका र किशोरीहरूको बढ्दो बेचबिखन न्यूनीकरण गर्दै लैजान सरकारले विभिन्न माध्यमबाट चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ। मानव बेचबिखन अन्त्य गर्न सरकारले सचेतनाका साथै निरपेक्ष गरिबीको रेखामुनि रहेका जनतालाई माथि उठाउँदै गरिबी निवारण गर्दै लिने नीति लिएको छ। गरिबी, अशिक्षा, बेरोजगारी तथा विभिन्न किसिमका हिंसा, विभेद र समाजमा विद्यमान कुरीतिजन्य अभ्यासका कारणले भइरहेको यस किसिमका आपराधिक कार्य पूर्ण रूपमा नियन्त्रण गर्न नेपाल सरकार निरोधात्मक तथा उपचारात्मक उपाय अवलम्बन गर्दै जान प्रतिबद्ध उहाँ शुभकामना सन्देश मार्फत बताउनु भएको छ।

मानव बेचबिखन अन्त्य गर्न बनेका कानुनहरूको कडाइका साथ सरकारले कार्यान्वयन गरिरहेको बताउनुभयो ।