उदयपुरमा पसले आमाछोराको हत्या

1.2K
shares

उदयपुरको कटारी नगरपालिका वडा नं. १० सोरुङ छबिसेमा आमाछोराको हत्या भएको छ। वडा कार्यालय नजिकै किराना पसल गर्दै आएकी अन्दाजी ४० वर्षिया निर्मला थापा र उहाँका छोरा अन्दाजी छ वर्षिय आरुस थापाको आज बिहान पसलमै शव भेटिएको हो।

वडाध्यक्ष क्षेत्रबहादुर खड्काका अनुसार बिहान पसलमा आउने ग्राहकहरुले आमाछोराको शव देखेका थिए। ‘आमाको शव भूइँमा घोप्टो परेको र छोराको खाटमा रगतमा डुबेको अवस्थामा फेला परको हो’, वडाध्यक्ष खड्काले भन्नुभयो, ‘छोराको शवमा हतियार प्रहार गरेको चोटहरु देखिएको जानकारी आएको छ।’

ईलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरीक्षक उमेश महतोले बिहानै घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी घटनास्थलतर्फ पठाइसकेको बताए। प्रहरी निरीक्षक महतोले भने, ‘प्रहरी घटनास्थल पुग्नै लागेको छ। पुग्नेबित्तिकै अनुसन्धान सुरु गर्छौं।’

घटनास्थल कटारी बजारबाट ३२ किलोमिटर उत्तरपहाडी भेगमा पर्दछ। वडाध्यक्ष खड्काले भने– ‘मृतक निर्मला थापाका श्रीमान् अशोक थापा दुईवर्ष अघि कान्छी श्रीमती लिएर भारत गएका थिए। ‘तीनसय मिटर पर मूल घर थियो गएराति चाहिँ आमाछोरा पसलमै बास बसेका रहेछन्, त्यही बेला घटना घटेछ।’

घटनास्थल पुग्नुभएका कटारी नगरपालिकाकी कार्यापालिका सदस्य गिताकुमारी गिरीले प्रहरी चौकी बतासेबाट प्रहरी आइपुगेको र अनुसन्धान प्रकृया अघि बढेको जानकारी दिनुभयो। स्थानीय दिपक राउतले बुधबार साँझ ८ बजेसम्म मुल घरको देवरहरुसँग मृतक निर्मलाको फोनमा कुरा भएको बताउनुभयो।

‘साना साना देवरहरु थिए उनीहरुलाई बिहान आउँछौ भनेका थिए रे’, राउतले भन्नुभयो, ‘बिहान घरमा खसी काट्ने सल्लाह थियो रे राति हत्या भएछ। ‘बिहान घटनाबारे थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । तीज मनाउने तयारीमा रहेको गाउँमा हत्याको घटनापछी स्थानीयवासी शोकमा छन्।