गठबन्धन सरकारविरुद्ध खबरदारी सभा गर्ने निर्णय

1.89K
shares

संयुक्त मधेस सङ्घर्ष समितिले भदौ ३१ गते खबरदारी सभा आयोजना गर्ने भएको छ । जनकपुरमा सम्पन्न समितिको बैठकले भदौ ३१ गते जनकपुरमा खबरदारी सभा आयोजना गर्ने निर्णय भएको तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लालले बताए ।

तमलोपाका प्रचार विभाग प्रमुख उमेशकुमार मण्डलका अनुसार संयुक्त मधेस सङ्घर्ष समितिले संविधान संशोधनको विषयमा अहिले भइरहेको चर्चाको विषयमा खबरदारी सभा आयोजना गर्न लागिएको हो । कांग्रेस–एमाले गठबन्धन सरकारले संविधान संशोधन गर्ने भनिरहेको छ ।

त्यो संविधान संशोधनले साना दल तथा सीमान्तकृत समुदायलाई हित नगर्ने बताउँदै संयुक्त मधेस सङ्घर्ष समितिले सुरुमै खबरदारी गर्न लागेको उनले बताए ।

संविधान संशोधन सीमान्तकृत समुदायको हितमा हुनुपर्ने र उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्नका लागि खबरदारी सभा गर्न लागिएको अध्यक्ष लालले बताए ।

प्रदेशहरूलाई निर्वाचन क्षेत्र मानी पूर्ण समानुपातिक निर्वाचन पद्धति, प्रदेशहरूको सीमाङ्कनमा पहिचान आधारित सुधार, अनुचित थ्रेसहोल्डको समाप्ति, प्रदेश र स्थानीय तहको प्रतिनिधि सदन राष्ट्रियसभाको भूमिकामा अझ मजबुत, सङ्घीय संरचनामा प्रादेशिक सुशासनकाे सुदृढताको निमित्त प्रादेशिक राजनीतिक दलहरूको मान्यता, भ्रष्टाचार नियन्त्रण र सुशासनको सुनिश्चितता जस्ता मागलाई समितिले अघि सारेको छ ।