अशक्तहरुले तीजमा व्रत बस्नैपर्छ भन्ने शास्त्रमा उल्लेख छैन
डा. रुद्रनाथ अधिकारी, ज्योतिष एवम् संस्कृतिविद्
वि.सं.२०८१ भदौ २१ शुक्रवार ०५:३२
shares

तीज पर्व र शास्त्रको रुपलाई कुरुप बनाईंदैछ : तीज मनाउने चलन नेपाल र भारतमा फरक छ :
अहिलेको समाजमा न त शास्त्रको मर्यादा छ, न कुलको परम्परा छ, न लोकाचार छ । लोकाचार, कुलाचार, शास्त्राचार मान्ने चलन हराएको छ । तीजको संस्कृति र संस्कारमा आँच आएको छ ।
नेपाली हिन्दू महिलारुको महान् चाड हरितालिका तीजको पृथक महत्व छ । समयसँगै संस्कार र संस्कृतिमा निकै परिवर्तन आएको छ जुन कुरो हाम्रा पर्वहरुमा सहजै दृष्टिगोचर हुन्छन् । तीजको महत्व नेपालमा मात्र होइन विश्वभर छरिएर रहेका हिन्दुहरुका लागि उत्तिकै महत्वपूर्ण र सान्दर्भिक छन् । विशेषगरी तीजमा ब्रत बस्ने परम्पराको आफ्नै महत्व छ ।
चाडपर्व वा तीजमा तीन प्रकारका ब्रत बस्ने चलन छ । निराहर ब्रत तीन प्रकारको हुने शास्त्रमै उल्लेख छ । निराहार, जलाहार र फलहार ब्रत बस्ने गरिन्छ । क्षमताले भ्याएसम्म निराहार ब्रत बस्नुपर्छ । शरीरले सक्दैन भने जलाहार र फलहार ब्रत बस्न सकिन्छ । वृद्ध, बालक र गर्भवती महिलाहरु तथा साथमा बच्चा भएका महिलाहरुले ब्रत बस्नैपर्छ भन्ने शास्त्रमा उल्लेख गरिएको छैन ।
शारीरिक अवस्था कस्तो छ त्यो अनुसार महिलाहरुले ब्रत गर्न सकिन्छ । जस्तै महिलाहरुले हरितालिकाको ब्रत गर्ने भनेको पतिको सुख, शान्ति, समृद्धि, आरोग्य, दिर्घायूको कामना गरेर विवाहित महिलाहरुले वर्त बस्ने हो भने अविवाहितहरुले सूयोग्य वर प्राप्तीको कामना गरेर ब्रत बस्ने हो ।
विवाहित महिलाहरुले आफ्नो पतिको दिर्घायू र पराभौवको कामना गरेर ब्रत बस्छन् । पुरुषहरुले किन ब्रत गर्दैन भनेर प्रश्न पनि उठ्ने गरेको छ । ब्रतका नाममा विकृतिहरु पनि समाजमा फैलिएका छन् । हरितालिका तीज नेपालमा र भारतमा अलिक फरक छ । भारतमा करुवा चौथी भनेर भन्छन्, यता तृतियालाई मान्छौं । भारतमा चौथीलाई मान्छन भने हामी तृतियालाई हरितालिका तीज भन्छौं । भारत वा नेपालको मनाइने पर्वको लक्ष्य एउटै हो । तर भारतीयले चन्द्रमाको चाँदलाई हेर्छन् भने नेपालीले तीजलाई हरितालिकाको रुपमा मान्छन् ।
तृतियाको दिन राती दर खाने, ब्रत बस्ने र पञ्चमीमा पूजा लगाएर यसलाई समापन गर्ने गरिन्छ । पञ्चमीलाई पूर्वी सिक्किमदेखि भारतको कोलकत्तासम्मको क्षेत्रमा पञ्चमीलाई मान्छन् । हिजोआज तीजमा मेला लगाउने चलन छ तर मेलाका नाममा बिकृति मौलाएको छ । महिलाहरु दरमा दारु पिएर रमाइलो गर्छन् । तीज भनेर पर्व र शास्त्रको रुपलाई कुरुप बनाईंदैछ । यो चाहीं हामी समृद्ध भएर हो कि, या मान्छे धनी भएर हो ? बुझ्न सकिएको छैन् ।
हिजोको दिनमा त अभाव थियो, चाहेर पनि सम्भव थिएन् । समाज एउटा नैतिक चरित्रमा र शास्त्रीय कुरामा बाँधिएको थियो, अहिले बन्धनहरुबाट समाज धेरै खुल्ला हुँदै गएको छ । अहिलेको समाजमा न त शास्त्रको मर्यादा छ, न कुलको परम्परा छ, न लोकाचार छ । लोकाचार, कुलाचार, शास्त्राचार मान्ने चलन हराएको छ । तीजको संस्कृति र संस्कारमा आँच आएको छ । यि तीनवटै चिजहरुबाट समाज विस्तारै स्खलित हुँदै गइरहेको अवस्था छ । हुनत हिजोआज समाजमा पुरुषले किन ब्रत गर्दैनन् भन्ने प्रश्न उठछन् तर पुरुषले निरन्तर गर्ने कर्ममा उसले आफ्नो अर्धांगनीको लागि नृत्यकर्म गरिरहेको हुन्छ ।
वैज्ञानिक दृष्टिकोणले पनि हाम्रो शरीरलाई आराम दिनको लागि हप्तामा एकदिन भएपनि ब्रत बस्नुपर्छ भनेको छ । यसका धेरै फाइदाहरु छन् । वशेष रुपमा दिदीबहिनी, चेलीबेटी वर्ष दिनमा आफ्नो आफ्नो कर्म घरमा बसेर भेट हुन नपाएका एक ठाउँमा जम्मा भएर आफ्नो पीडाहरुलाई भगवानको नामसँग जोडेर गीत बनाएर आफ्नो पीडाहरुलाई र खुसीहरुलाई एकआपसमा बाड्ने र नाँच्ने रमाउने प्रचलन हो ।













