करीब तीन लाख व्रतालुले गरे पशुपतिनाथको दर्शन
वि.सं.२०८१ भदौ २१ शुक्रवार १२:२३
shares

नेपाली नारीको महान् पर्व हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिरमा आज शुक्रबार करिब तीन लाख भक्तजनले दर्शन एवं पूजा आराधना गरेका छन् ।
आज चार बजेसम्म करिब तीन लाख भक्तजनले मूल मन्दिरभित्र प्रवेश गरी दर्शन गरेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिएका छन ।
पशुपतिनाथको दर्शनका लागि अझै धेरै व्रतालु लामो लाममा बसीरहेको पनि उनले जानकारी दिएका छन । व्रतालु लाममा बसेसम्म आज दर्शन गर्न दिइने कोषले जनाएको छ ।
पर्वका अवसरमा आज बिहान तीन बजेदेखि नै पशुपतिनाथका चार वटै ढोका खोलिएको थियो । बिहान केही बेर झरीले भक्तजनलाई लाममा बस्न असहज भएको थियो । झरी रोकिएपछि धेरै भक्तजन पशुपति क्षेत्र प्रवेश गरी लाम लागेका थिए ।
तीजका लागि कोषले बाहिरबाट चार वटा लामको व्यवस्था गरेको थियो । मूल मन्दिरभित्र प्रवेश गरिसकेपछि एउटा ढोकामा दुईदेखि तीन लामको व्यवस्था गरिएको उनले जानकारी दिएका छन । तीजका अवसरमा प्रथम महिला सविता पौडेलले आज पशुपतिनाथ मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने कार्यक्रम रहेको छ ।
यसैगरी तीजको व्यवस्थापन अवलोकन गर्न कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्रीप्रसाद पाण्डे पनि पशुपति क्षेत्र जाने जनाइएको छ ।













