राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री असोज ४ गते अमेरिका जाने

1.77K
shares

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन असोज ४ गते अमेरिका जाने भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री ओलीको भ्रमण कार्यक्रम स्वीकृत गरिसकेको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अमेरिकाको न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलको भ्रमण कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिए ।

राष्ट्रसंघको महासभा सेप्टेम्बर १० देखि २८ अर्थात् २५ भदौदेखि १२ असोजसम्म न्यूयोर्कमा हुँदैछ । प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको महासभा र असोज ६–७ गते हुन ‘समिट अफ द फ्युचर’लाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री ओली सोही कार्यक्रममा सम्बोधन गर्ने गरी अमेरिका प्रस्थान गर्नेछन् ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रधानमन्त्री पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्री पत्नी राधिका शाक्य, निजी चिकित्सकलगायत छन् ।

पछिल्लो पटक ओली प्रधानमन्त्रीका रुपमा संयुक्त राष्ट्र संघको ७३ औँ महासभामा भाग लिन ६ असोज, २०७५ मा अमेरिका प्रस्थान गरेका थिए । ३० असारमा प्रधानमन्त्री भएका ओली यो कार्यकालमा कुनै विदेश भ्रमणमा गएका छैनन् ।

ओलीको यो भ्रमण अमेरिकाको औपचारिक भ्रमण भने होइन । उनी सदस्य राष्ट्रको हैसियतमा संयुक्त राष्ट्र संघको महासभामा भाग लिन जान लागेका हुन् । संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलले सहभागिता जनाउँदै आएको छ ।

राष्ट्र संघको महासभामा भाग लिन जाँदा पनि विभिन्न उच्चस्तरीय भेटघाट र विभिन्न ठाउँको भ्रमण हुनसक्ने सम्भावना भने रहेको सचिवालयले जनाएको छ । राष्ट्र संघको महासभा भदौ २५ गतेदेखि सुरु भए पनि सदस्य राष्ट्रका प्रमुखहरु भने असोज २–३ देखि सुरु हुने मुख्य कार्यक्रममा भाग लिन जाने छन् । राष्ट्रसंघमा नेपालसहित विश्वका १९३ देश सदस्य छन् । भ्याटिकन र प्यालेस्टाइन गरी २ राष्ट्र गैरसदस्य राष्ट्रको रूपमा सहभागी हुनेछन् ।