अहिलेसम्मका हवाई दुर्घटनाबारे अध्ययनार्थ छानबिन समिति बनाउँछौं : नागरिक उड्डयन मन्त्री
वि.सं.२०८१ भदौ २३ आइतवार १२:५६
shares

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले अहिलेसम्म भएका सबै हवाई दुर्घटनाबारे बनेका छानबिन समितिले औंल्याएका सवालबारे अध्ययन गर्न उच्च स्तरीय छानबिन समिति बनाउनु पर्ने बताएका छन्।
सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा दिवंगत भएकाहरूको सम्झना तथा ४५औं दिनको पुण्य तिथिको सन्दर्भमा आइतबार राजधानीमा आयोजित श्रद्धाञ्जली सभा तथा नेपालमा हवाई सुरक्षा विषयक अन्तरक्रियामा बोल्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन्।
मन्त्री पाण्डेले भने, ुहवाई दुर्घटनाबारे विगतमा थुप्रै अलग-अलग अध्ययन र अनुसन्धान भएका छन्। तिनीहरूलाई एकीकृत गरेर राख्नु पर्ने छ, उनले भने नागरिक उड्डयनको क्षेत्रलाई सुरक्षित पार्नका लागि न्यायिक क्षेत्रको व्यक्तिको संयोजकत्वमा उच्च स्तरीय छानबिन समिति बनाउने छौं। त्यस समितिले अध्ययन गरेका कुरालाई सरकारले समेत शिरोधार्य गर्ने छ।
उनले सौर्य एयरलाइन्सको दुर्घटनाबारे प्रारम्भिक प्रतिवेदन प्राप्त भइसकेको उल्लेख गर्दै प्रतिवेदन सत्य, तथ्य नजिक पुगेको बताए। मन्त्री पाण्डेले हवाई क्षेत्रलाई सुरक्षित बनाउन नियामक निकाय र सेवा प्रदायक निकायलाई छुट्याउने गरी ल्याएको विधेयक अर्थ, कानुन हुँदै मन्त्रालय पुगेको बताए। उनले उक्त विधेयक मन्त्रिपरिषद् मार्फत संसदमा पेस गरिने विश्वास दिलाए।













