कांग्रेस उपसभापति गुरुङकाे ठगी विषयमा छानबिन गराैँ
वि.सं.२०८१ भदौ २४ सोमवार १०:२५
shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ सहकारी ठगी प्रकरणमा मुछिएको विषय संसदमा उठाएको छ ।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद गणेश पराजुलीले कांग्रेस उपसभापति गुरुङमाथि छानबिन हुन्छ कि हुँदैन ? भन्दै प्रश्न गर्नुभएको हो ।
उहाँले भन्नुभयो, ‘सहकारीको रकम अपचलनको विषयमा छानबिनको माग गर्न संसदीय समिति बनाउनुपर्छ भनेर नाराबाजी गर्ने एक माननीयविरुद्ध प्रहरीमा उजुरी परेको छ । उजुरी त अन्तिम सत्य होइन उजुरी नै नपर्दा प्रमाण नै नहुँदा रास्वपाका सभापतिलाई सदनमा के के सम्म गरियो संसारले देखेको छ ।
तर, मितेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुम्भराज गुरुङले सहकारीको १५ करोड हिनामिना गरेकोमा धनराज गुरुङ र ज्योति गुरुङविरुद्ध ठगीको उजुरी दर्ता गराउनुभएको छ । म गुरुङमाथि छानबिन हुन्छ कि हुँदैन भनेर म कांग्रेसका सांसदहरुमाथि प्रश्न गर्न चाहन्छु । साथै, सहकारीको ठगी लुकाउन उहाँले सम्बन्ध विच्छेद गरेकोसमेत कुरा बाहिर आएको छ ।’
सांसद पराजुलीले सहकारी ठगीलाई लुकाउनको लागि नक्कली सम्बन्ध विच्छेद गरेको कुरालाई पनि छानबिन गर्नसमेत माग गर्नुभएको छ ।













