बीपी मायालु हुनुहुन्थ्यो : किशोर नेपाल

  • विविधताले भरिएको जीवन बिताउनु भएका वीपी कोइरालाको चर्चा हामी उहाँभन्दा धेरैपछि जन्मिएका पुस्ताले कसरी गर्ने भन्नेमा समस्या छ । तर समस्या वीपी आफैंले समाधान पनि गर्नुभयो । यस विषयमा उहाँका पुस्तकहरु छन्, हामीले पढ्न सक्छौ । उहाँका लेखहरु छन्, त्यसलाई नियाल्न सक्छौ, केलाउन सक्छौ । उहाँको ज्ञानको गम्भीरता र गहिराई खोतल्न सक्छौ ।

    शब्दको हिसाबले वैज्ञानिक भएपनि वीपीले के गर्नुभयो, कसरी गर्नुभयो भन्ने कुराको हामीसँग अनुभवहरु छैनन् ।

    तर वीपीका योगदानहरुलाई सम्झिदा, पढ्दा रोमाञ्चक लाग्छ । उहाँले कसरी चिनियाँ र भारतीय नेताहरुसँग सन्तुलित सम्बन्ध स्थापना गर्नुभएको थियो ।

    उहाँसँग किन भारतका प्रधानमन्त्री नेहरु र चीनका प्रधानमन्त्री दुवैले सम्मान भाव राख्थे, त्यसका कारणहरु के थिए ?

    उहाँले कस्तो अवस्थामा किन इजरायललाई मान्यता दिनु भएको थियो ? त्यो उहाँको साहस थियो वा दुस्साहस थियो । यि इतिहास खोतल्ने कुराहरु हुन् ।

    मंैले वीपीलाई चिनेको २६÷२७ सालमा हो । वनारसमा गएर भेटेको थिएँ । १०–१५ मिनेट कुरा गरेको थिएँ ।

    पछि वीपी नेपाल आइसक्नु भएपछि उहाँसँग निकटको सम्बन्ध भयो । नेपाली कांग्रेसको प्रचार समितिको कार्यालय जमलमा अर्थात कमलादी जाने बाटोमा थियो ।

    त्यहाँ वीपी सँधै आउने गर्नुहुन्थ्यो । त्यहाँ उहाँको प्रेसको सम्पर्क शुत्रका रुपमा म थिएँ । उहाँसँग वाहिरका मान्छे भेटाउने काम गर्दथें ।

    वीपी कस्तो हुनुहुन्थ्यो भन्ने विषयमा कुरा गर्दा मलाई डर पनि लाग्थ्यो । तर उहाँको माया हेर्दा अचम्म लाग्ने थियो ।

    कुनै वर्षको फागुन ७ गते म वीपी भएको ठाँउमा पुगेको थिए । उहाँको सन्देश लिन पुगेको थिए । मैंले डायरीमा टिप्न थालें, उहाँ बोल्न लाग्नुभयो ।

    रातो डायरी थियो । लेख्दालेख्दै चिसोले मेरा औंलाहरु कठ्याङ्ग्रिएका थिए ।

    वीपी आफैंले मेरो डायरी लिएर बाँकी रहेका टिप्पणी लेखिदिनुभयो । त्यस्तो मायालु पनि हुनुहुन्थ्यो । त्यो डायरी अहिले पनि सुरक्षित छ त्यसलाई वीपी संग्राहलयले राखेको छ ।

    (आइतबार नेपाल प्रेस युनियनले आयोजना गरेको ‘पत्रकारिताका सन्दर्भमा बीपी’ विषयक प्रवचन कार्यक्रममा व्यक्त विचार)

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2024 newsinnepal.com All right reserved Site By : Himal Creation