उपसभामुख इन्दिरा राना मगरलाई हटाउने विषयमा छलफल
वि.सं.२०८१ भदौ २५ मंगलवार ०७:३७
shares

सत्ता गठबन्धनको बैठकमा उपसभामुख इन्दिरा राना मगरलाई हटाउने विषयमा छलफल भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा उपसभामुखलाई हटाउन सदनमा प्रस्ताव लैजानेबारे छलफल भएको थियो । सत्तारुढ दलमा यो विषयमा छलफल भएपछि मंगलबार संसद् बैठकअघि पार्टीमा अनौपचारिक छलफल गर्न लागिएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।
यसबारे आफूले भर्खरै सूचना पाएको भन्दै उनले थप अध्ययन गरेर संसद् बैठकमा पनि कुरा उठाउने उनले बताए । ‘उपसभामुखलाई हटाउने सत्ता गठबन्धन दलमा भएको छलफललाई हामीले गम्भीररूपमा लिएका छौँ । यसबारे छलफल गर्न हामीले अनौपचारिक बैठक बोलाएका छौँ ।
थप अध्ययन गरेर संसद्को दिउँसो बस्ने संसद् बैठकमा फ्रन्टलाइनमा कुरा उठाउँछौँ’, उनले भने ।
यसअघि उपसभामुख राना असम्बन्धित व्यक्तिलाई अन्तर्वार्ताका लागि समय मिलाइदिन नेपालस्थित अमेरिकी दूतावासलाई पत्र लेखेपछि विवादमा तानिएकी थिइन् ।





