उपसभामुख रानासँग राजीनामा माग्ने, नदिए अविश्वासको प्रस्तावकाे तयारी
वि.सं.२०८१ भदौ २५ मंगलवार ११:२४
shares

सत्तारुढ दलहरूले उपसभामुख इन्दिरा रानामगरसँग पहिला राजीनामा माग्ने र नदिए अविश्वासको प्रस्ताव ल्याउने भएका छन् । निकटस्थ स्रोतका अनुसार बिहान नेकपा एमाले र नेपाली कांग्रेसका शीर्ष तहका नेताहरूको अनौपचारिक छलफलले उपसभामुख रानालाई सुरुमा पद छाड्नका लागि आग्रह गर्ने नमानेको अवस्थामा उनीविरुद्ध पदीय आचरणको अनुकूल काम नगरेको भन्ने महाअभियोग प्रस्ताव अघि बढाउने सहमति बनेको हो ।
सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन दलहरूको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पदीय आचरणको अनुकूल काम नगरेकोले महाअभियोग प्रस्ताव ल्याउने बताएका थिए । त्यो प्रस्ताव नेपाली कांग्रेस र नेकपा एमालेको साझा हुने प्रधानमन्त्री ओलीको भनाइ थियो ।
ओलीको प्रस्तावमा सत्ता गठबन्धनमा रहेका जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले समर्थन जनाएका थिए ।
त्यसपछि बिहान उपसभामुख रानाविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी रहेको विषय प्रधानमन्त्री ओलीको सचिवालयबाट सूचना चुहिएको थियो ।
यसबारे मिडियामा समाचार आएपछि प्रतिनिधि सभा बैठकमा पनि यसबारे सांसद्हरूले प्रश्न उठाएका छन् ।













