राष्ट्रिय प्रत्यारोपण केन्द्र परिसरमा विरोध प्रदर्शन बुधबार पनि जारी

1.35K
shares

भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भएको अनियमितताविरुद्ध स्थानीयबासीले आन्दोलनलाई निरन्तरता दिएका छन् । एक सातादेखि प्रदर्शनमा उत्रिएका उनीहरुले बुधबार पनि अस्पताल गेट अगाडि प्रदर्शन गरेका छन् ।

भक्तपुर नागरिक सरोकार समाज सेवा सुचारु संघर्ष समितिको अगुवाइमा जारी आन्दोलनमा अस्पतालभित्र भइरहेको अनियमितता र व्यथिति तत्काल अन्त्य गर्न माग गरिएको छ ।

गत बुधबारदेखि गेट अगाडि कालो ब्यानरसहित प्रदर्शनमा उत्रिएका स्थानीयले जिल्ला प्रशासन कार्यालय भक्तपुरमा पुगेर ध्यानाकर्षण पत्र बुझाइसकेका छन् । बुधवार यता उनीहरुले दिनहुँ प्रदर्शन गर्दै आइरहेका हुन् ।

आन्दोलनकारीहरुले भ्रष्टाचारी र अयोग्य नेतृत्वलाई अविलम्ब कारबाही गर, गैरकानुनी तरिकाले बर्खास्त चिकित्सकहरुलाई अविलम्ब पुनःबहाली गर, मुटु, कलेजो, मृर्गौला फोक्सो तथा नशा सेवाहरुलाई तुरुन्तै सुचारु गरी व्यवस्थित गर, सबै प्रकारका अस्पतालभित्र हुने सामाजिक उत्पीडन बन्द गर, कर्मचारीहरूको रोकिएको तलब सुविधा तुरुन्तै भुक्तानी गरलगायतको ब्यानर बोकेर प्रदर्शन गरेका हुन् ।