हिंसा शब्द असंसदीय नभएको र रेकर्डबाट हटाउन नपर्ने सभामुखको रुलिङ

1.03K
shares

सभामुख देवराज घिमिरेले हिंसा शब्द असंसदीय नभएको भन्दै रेकर्डबाट हटाउन नपर्ने बताएका छन् । उनले उक्त  रूलिङ अनुसार आगामी दिनमा शब्द छनोट गर्दा ध्यान दिन अनुरोध पनि गरे ।

यस अगि भदौँ १२ गते बसेको संसद्को बैठकमा एमाले सांसद योगशे भट्टराईले माओवादी जनयुद्धलाई हिंसाको टिप्पणी गरेका थिए । त्यसपश्चात् सदन निरन्तर बहस चलेको थियो । त्यससमयमा  सभामुख देवराज घिमिरिले शब्दमा अध्ययन गरेर आवश्यक निर्णय गर्ने बताएका थिए ।

बुधबारको प्रतिनिधिसभा बैठकमा सचिवालयको निर्णय सुनाउँदै उनले हिंसा शब्द हटाउन नपर्ने बताएका थिए । उनले उक्त शब्द असंसदीय नभएको बताए ।

त्यसपछी प्रमुख प्रतिपक्षीय दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रतिवाद गरे । उनले मुल कानुन संविधान भएको र संविधानमै जनयुद्ध र जनआन्दोलनको व्याख्या गरिएको भन्दै हिंसा भन्ने शब्द संविधान र कानुन विपरित भएको बताए । ‘संविधानभन्दा यहाँ प्रयोग हुने शब्द फरक हुने हो‚’ उनले प्रश्न गरे ।

त्यसपश्चात् बोल्दै एमाले सांसद रघुजी पन्तले सभामुखको रूलिङमा प्रश्न उठाउने विषय नभएको उल्लेख गरे । त्यसपश्चात् पनि बोल्न पाउनुपर्ने विषय रेकर्डमा राख्न पाउनुपर्ने भन्दै माधव सापकोटाले समय मागेपछि सदन बैठकमा पक्ष विपक्षमा बहस भएकाे छ।