दुई ठूला दल मिल्दा अवसर र चुनौती दुवै छन् : ऊर्जा मन्त्री खड्का
वि.सं.२०८१ भदौ २७ बिहीवार ०६:१३
shares

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले वर्तमान सरकारले जनतामा आशा जगाएको बताउनुभएको छ ।
नेपाली कांग्रेस मोरङ जिल्ला कार्यसमितिले आज विराटनगरमा आयोजना गरेको बधाई कार्यक्रममा उहाँले दुई ठूला राजनीतिक दल मिलेर वर्तमान सरकार बनेकाले यो सरकारले जनतामा आशा जगाएको बताउनुभयो । “दुई ठूला दल मिल्दा अवसर र चुनौती दुवै छन्, यसलाई सम्बोधन गरेर अगाडि बढ्नुपर्छ,” उहाँले भन्नुभयो ।
पार्टी र जनप्रतिनिधिबीच एकापसमा सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यसमेत रहनुभएका नेता खड्काले पार्टी सङ्गठनलाई बलियो बनाउन मोरङ कांग्रेसबाट अन्य जिल्लाले पाठ सिक्नुपर्ने बताउनुभयो । मन्त्री खड्काले कोशी प्रदेशबाट कांग्रेसको प्रतिनिधित्व गरी आफू मन्त्री बनाएकाले यो प्रदेशप्रति जिम्मेवार बोध हुनेगरी काम गर्ने उल्लेख गर्नुभयो ।
उहाँले संस्थागत रूपमा विकास योजनाका काम ल्याउनसमेत पार्टीका नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।
ऊर्जामन्त्री खड्काले आगामी एक वर्षभित्र देशभर विद्युतीकरण गरिसक्ने अभियानका साथ सरकारले काम गरिरहेको बताउनुभयो ।
सुशासनलाई केन्द्रमा राखेर मन्त्रालयले काम गरिरहेको उहाँले बताउनुभयो ।
नेपाली कांग्रेस मोरङका कार्यवाहक सभापति भक्तिनाथ माझीले कांग्रेस सरकारमा सहभागी भएको अनुभूत जनतालाई हुनेगरी काम गर्न आग्रह गर्नुभयो ।
उहाँले पार्टीसँग समन्वय गरेर ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रको विकासमा लाग्नुपर्छ भन्नुभयो ।













