पशुपतिको कोटिहोममा आम्दानी भन्दा खर्च बढि , ७२ लाख घाटा भएको विजय कृष्णमुर्तिको दाबी
वि.सं.२०८१ भदौ २७ बिहीवार ११:५०
shares

पशुपतिमा भएको कोटिहोममा आम्दानीभन्दा धेरै खर्च भएको आयोजक विजय कृष्णमुर्तिले सार्वजनिक गरेका छन् । पशुपति मन्दिरमा एक महिनासम्म आयोजना भएको कोटिहोम सकिएको एक महिनापछि आय व्यय विवरण सार्वजनिक गर्दै उनले घाटा भएकाे हिसाब देखाएका हुन् ।
आयोजक कृष्णमूर्तिले बिहीबार पत्रकार सम्मेलन गर्दै कोटीहोममा कुल २० करोड १५ लाख ८२ हजार ४९० रुपैयाँ १५ पैसा नगद र द्रव्य दान संकलन भएको र २० करोड ८८ लाख ३२ हजार ७९४ रुपैयाँ ३८ पैसा खर्च भएको जानकारी दिए। उनले ७२ लाख ५० हजार ३०४ रुपैयाँ घाटा भएको अपत्यारिलो दावी गरे ।
महायज्ञमा बाचा भएको मध्ये डेढ करोडदेखि २ करोड रूपैयाँ आउन बाँकी रहेको र साे रकम आयो भने बचत हुने कृष्णमुर्तिले पत्रकार सम्मेलनमा जानकारी दिए ।
उनले दिएको विवरण अनुसार प्रमुख कथावाचकहरुले एकमुष्टरुपमा ७७ लाख रुपैयाँभन्दा बढी दक्षिणा लगेका छन् । यस्तै, भागवत पाठ, रुद्री हवनमा खटिएका गुरुहरुमा ६५ लाख १४ हजार रुपैयाँ दक्षिणा स्वरुप खर्च भएको बताए। आचार्य र विशिष्ट गुरुहरुलाई २७ लाख १३ हजार दिइएको उनले पनि जानकारी दिए ।
कृष्णमुर्तिले देखाएको खर्च विवरण मध्ये अर्को ठुलो रकम मिडियामा गरेको बताए । उनले प्रचार प्रसारका लागि फेसबुक बुस्टसहित विभिन्न मिडियालाई १ करोड ८ लाख रुपैयाँ बाँडेको बताए ।













