खेल क्षेत्रमा उल्लेख्य प्रगति भइरहेको छ : प्रधानमन्त्री
वि.सं.२०८१ भदौ २८ शुक्रवार ०७:४३
shares

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल ओलम्पिकको सहभागिताको तलाबाट पदक विजेताको तलामा उक्लिएको भन्दै खुशी व्यक्त गरेका छन् ।
शुक्रबार ऐतिहासिक ओलम्पिक पदक विजेता पलेशा गोवर्द्धनलाई ६५ लाख रुपैयाँ नगदसहित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पारा खेलाडी गोवर्धनले यस स्थानमा पुग्नका लागि मार्गदर्शन र आफ्ना सीपहरुको अधिकतम् प्रयोग गर्न सफल भएको भन्दै प्रसंशा गरे ।
उनले भने, ‘खेल क्षेत्र एउटा स्थान विषेश र देश विशेषको पहिचानको कुरा हो । खेलले कुन देशले जित्यो भन्ने कुरा विश्वभर प्रचारित हुन्छ । हाम्रो सहभागिता लामो समयदेखि भएको भएपनि पदक प्राप्त गर्न सकेका थिएनौं । तर अब सहभागिताको तलाबाट पदकको तलामा उत्रिएका छौं ।
खेल क्षेत्रका सबै क्षेत्रमा यसैगरी उन्नति प्रगति गर्दै जानेछौं भन्ने विश्वास लिएका छौं । खेलको क्षेत्रमा उल्लेख्य प्रगति गरेका छौंं । खेलाडीहरुको खेलपनि हेरेको छु । टिमहरु अन्तर्राष्ट्रियस्तरका छन् ।
नेपालले खेलकुदको क्षेत्रमा उल्लेख्य प्रगति गरेको भन्दै प्रधानमन्त्री ओलीले प्रविधिको विकाससँगै अगाडी बढुन जरुरी रहेको बताए ।
सरकारले ऐतिहासिक ओलम्पिक पदक विजेता पलेशा गोवर्द्धनको खातामा ६५ लाख रुपैयाँ गरिदिएको छ ।
यस्तै प्रशिक्षक कविराज नेगीलाई ५ लाख ८५ हजार पुरस्कार व्यवस्थापक २ लाख ९२ हजार पुरस्कार रकम दिइएको छ ।
सरकारले राष्ट्रिय खेलकुद विकास नियमावली अनुसार सो पुरस्कार दिएको हो ।











