नर्वेका सांसदहरू नेपाल भ्रमण

1.31K
shares

नर्वेका सांसदहरूको एक टोली नेपाल भ्रमणमा आएको छ । उनीहरूले बिहीबार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सदस्यहरूसँग छलफल गरेको छ ।

सिंहदरवारस्थित समितिको कार्यकक्षमा भएको छलफलमा बैठकमा दुवै देशका सांसदहरूले नेपाल र नर्वेबीचको मैत्रीपूर्ण र सुमधुर सम्बन्ध तथा सहकार्यबारे चर्चा गरेका थिए ।

अन्तराष्ट्रिय सम्बन्ध समितिका सभापति राजकिशोर यादवले नर्वे र नेपालको संसदीय समितिबीच पहिलो पटक बैठक भएको बताए । उनले संसदीय कूटनीतिका रूपमा भ्रमण र भेटघाट भएको उल्लेख गरे ।

बैठकमा संसदीय शासन प्रणालीको सञ्चालन, लोकतान्त्रिक प्रक्रिया तथा साझा विश्वव्यापी एजेन्डाका लागि सहकार्य गर्नेबारे कुराकानी भएको थियो ।

जलवायु परिवर्तनका प्रभावहरूको न्यूनीकरण र दिगो विकास लक्ष्य हासिल गर्न अन्तर्राष्ट्रिय मञ्चहरूमा सहकार्य गर्ने विषयमा पनि छलफल भएको छ ।

छलफलमा नर्वेका सांसदहरूले शान्ति स्थापनामा नेपालको योगदानको प्रशंसा गरेका थिए ।

उनीहरूले नेपालको ऊर्जा क्षेत्रमा सहयोग गर्न नर्वे इच्छुक रहेको पनि बताए । आगामी दिनमा दुई संसदबीच संसदीय अभ्यासका सिकाइ र अनुभव साटासाट गर्नेबारे दुवै देशका सांसदहरू सकारात्मक रहे ।

नर्वेका पूर्वविदेशमन्त्री र रक्षामन्त्री समेत रहेकी सांसद इने म्यारी एरिक्सन सोरेइडको नेतृत्वमा १४ सदस्यीय टोली नेपाल भ्रमणमा आएको हो ।

कन्जरेभेटिभ पार्टीकी सांसद इने म्यारीले सन् २०१३ देखि ०१७ सम्म रक्षा र सन् २०१७ देखि २०२१ सम्म विदेश मन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन् ।