उपसभामुख हटाउने कुराबाट काँग्रेस–एमाले ब्याक हुन्छन् : प्रचण्ड

1.66K
shares

पूर्व प्रधानमन्त्री र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने विषयमा काँग्रेस र एमालेले आफैं ब्याक हुने टिप्पणी गरेका छन्।

शुक्रबार विराटनगर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै दाहालले उपसभामुखले केही टेक्निकल त्रुटी गरेको उल्लेख गर्दै पदबाट हटाउने निर्णय गर्नुपर्ने अवस्था नभएको बताए। उनले भने, “उपसभामुख इमान्दार, जनजाति महिला र बालबच्चाको लागि ख्यातिप्राप्त व्यक्ति हुन्। केही टेक्निकल गल्ती भएको भए पनि त्यसको सजाय उनलाई हटाउनेसम्म जानु हुँदैन। सायद काँग्रेस र एमाले आफैं पछि हट्न सक्छन्।”

दाहालले संवैधानिक परिषदमा प्रधानन्यायाधीशको सिफारिसका लागि ८ जनाको नाम आएको बताउँदै सबै योग्य रहेको जानकारी दिए। उनले भने, “प्रधानन्यायाधीशको सिफारिसका लागि ८ जनाको नाम आएको छ। सिनियारिटीलाई तोड्नुपर्छ भन्ने कुनै सुझाव आएको छैन। रिक्त पदमा एकैपटक नियुक्ति गर्नु राम्रो हुने विचार छ।”

संसदको विषयमा दाहालले ‘हिंसा’ शब्दको बहस पूरा नगरेसम्म संसद चल्न नदिने बताउँदै, “एमालेका साथीहरूले जनयुद्धलाई ‘हिंसा’ भनेर अपब्याख्या गरेका छन्। यो विषयको समाधान नभएसम्म संसदमा विरोध जारी रहनेछ।”