यस वर्षभित्रै नेपाललाई सडक बालबालिकामुक्त राष्ट्र बनाइने

2.35K
shares

प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ भित्र नेपाललाई सडक बालबालिकामुक्त राष्ट्र बनाउने अठोट व्यक्त गरेका छन् ।

नेपाल बाल सङ्गठनद्वारा ६० औँ राष्ट्रिय बाल दिवसका अवसरमा शनिबार प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिले पनि ठुलो सङ्ख्यामा बालबालिकाहरु बेसाहारा र अभिभावकबिहीन हुनुका साथै शिक्षा र स्वास्थ्यका अवसरबाट वञ्चित भएको अवस्थामा यस्तो स्थितिलाई बदल्न सरकारले संकल्प गरेको स्पष्ट गरेका हुन्।

प्रधानमन्त्री ओलीले दिवसका अवसरमा तय गरिएको ‘बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी’ नारालाई सार्थक बनाउनुपर्नेमा जोड दिँदै बालबालिकाहरुले हप्कीदप्की, नियन्त्रण र बन्धनमा होइन उन्मुक्तिमा बाँच्न पाउनुपर्ने बताए ।

‘बाल्यकालदेखि नै बालबालिकाहरुले असुरक्षाबाट ग्रस्त हुने स्थिति हुनु हुँदैन । अहिलेको सरकार बालअधिकार सन्दर्भमा होसियार छ । अघिल्लो पटक म प्रधानमन्त्री हुँदा बालबालिकाहरु अभिभावकबिहीन भएर कोही बालबालिका सडकमा रहन सन्दैन भनेर भनेको थिए,’प्रधानमन्त्री ओलीले भने, उनीहरुले आफ्नो नैसिर्गिक अधिकारलाई अनुहारमा मुस्कानसहित उपभोग गर्न पाउनुपर्छ । भविष्यका कर्णधार बालबालिकामाथि आर्थिक स्थिति कमजोर भए पनि सरकारले लगानी गर्छ । उनीहरुको हितमा सुधार ल्याउन ठोस कदम चाल्नैपर्छ ।’

कार्यक्रममा दिवसका अवसरमा आयोजित विभिन्न प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो ।