भ्रष्टाचार विरोधी अभियानको संकेत ओली र देउवातिर पर्दा मेरो सरकार ढल्योः प्रचण्ड

1.74K
shares

पूर्व प्रधानमन्त्री र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार विरोधी अभियानको संकेत बालकोट र बुढानीलकण्ठतिर पर्नासाथ आफ्नो सरकार ढलेकाे आरोप लगाएका छन्।

शनिबार मोरङको ग्रामथानमा आयोजित पार्टीको कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले भूटानी शरणार्थीसँग सम्बन्धित केही फरार अभियुक्तहरूको पक्राउ र सुशासनको प्रयास बालकोट र बुढानीलकण्ठतिर केन्द्रित गर्दा आफ्नो सरकार ढल्न पुगेको बताए।

‘सुशासनको प्रयास बालकोटतिर र बुढानीलकण्ठतिर केन्द्रित हुँदा जब भ्रष्टाचार विरोधी अभियानको ध्यान पनि त्यतैतिर गयो, नेताहरुमा आतंक र डर पैदा भयो,’ उनले भने।

‘राम्रो काम गर्ने प्रयास गर्दा पनि कुनै अभियोग नलाग्दै, तथाकथित संख्याको बलमा अस्वाभाविक रूपमा आफ्नै नेता र कार्यकर्तालाई जानकारी नदिई पहिलो र दोस्रो पार्टीबीच गठबन्धन निर्माण भयो र सरकार परिवर्तनको अवस्था आउन पुग्यो,’ प्रचण्डले भने।

प्रचण्डले सत्ता गठबन्धनलाई बंगलादेशको सन्दर्भमा चेतावनी पनि दिएका छन्।

‘मैले केवल चेतावनी दिएको हुँ, कांग्रेस र एमाले नेताहरुले भनेजस्तो बंगलादेश जस्तो स्थिति ल्याउने धम्की दिएको होइन,’ उनले थपे, ‘मैले केवल सम्झाएको हुँ, दुई तिहाइको अहंकार बढ्यो भने बंगलादेशको अवस्था हेरे पुग्छ, त्यहाँ पनि दुई तिहाइ एउटै पार्टीको थियो।’