इंग्लिस प्रिमियर लिगमा चेल्सी विजयी
वि.सं.२०८१ भदौ ३० आइतवार ०३:१३
shares

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी विजयी
शनिबार राति भएको खेलमा चेल्सीले एफसी बर्नमाउथलाई १–० गोल अन्तरले हरायो। बर्नमाउथका फ्रान्सिस्को एभानलिसनले ३८ औं मिनेटमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्न असफल हुँदा बर्नमाउथ अग्रता लिन नसक्दा पराजित भएको हो।
खेल बराबरीमा रहेकाले चेल्सीले ८६ औं मिनेटमा गोलको खडेरी तोड्यो। चेल्सीका क्रिष्टोफोर नुकुनुले जाडोन सान्चोको पासमा गोल गरेका थिए। सोही गोलले चेल्सीलाई प्रिमियर लिगमा ३ अंक थप्न पर्याप्त भयो। चेल्सी जारी सिजनको चौथो चरणमा सात अंकका साथ तालिकाको सातौं स्थानमा रहेको छ।
चेल्सीसँग पराजित बर्नमाउथ ५ अंकका साथ ११ औं स्थानमा छ र यो उनीहरूको पहिलो हार हो।
एस्टन भिल्लाको शानदार पुनरागमन
एस्टन भिल्लाले एर्भटनमाथि ३–२ गोलको पुनरागमन जीत दर्ता गरेको छ। एभर्टनले १६ औं मिनेटमा डिवेट म्याकनेलको गोलबाट अग्रता लिएको थियो। २७ औं मिनेटमा डोमोनिक कालभर्टले दोस्रो गोल थप्दा एभर्टनको अग्रता दोब्बर बनायो।
एस्टनले ३६ औं मिनेटमा ओले वाट्किन्सको गोलबाट अन्तर २–१ मा ल्यायो। ५८ औं मिनेटमा वाट्किन्सले व्यक्तिगत दोस्रो गोल गर्दा खेल बराबरीमा ल्यायो। अन्ततः ७६ औं मिनेटमा रोस बार्कलेको पासमा जोन डुरानले गोल गरेर एस्टनलाई ३–२ को जीत दिलाए।
अन्य खेलहरू
व्राइटन र इप्सवीचले गोलरहित बराबरी खेले भने क्रिष्टल प्यालेस र लेस्टर सिटीले २–२ गोलको बराबरी खेल्दै अंक बाँडे। फुलह्याम र वेस्टह्यामले पनि एक–एक गोलको बराबरी खेल्दै अंक बाँडे।












