प्रकाश राईले पाँचौं मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगितामा उपाधि जिते

1.66K
shares

फोनिक्स फिट्नेसका प्रकाश राईले पाँचौं मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगितामा उपाधि जितेका छन्। उनले विभिन्न तौल समूहका विजेतालाई पछि पार्दै ओभरअल च्याम्पियनको उपाधि प्राप्त गरेका छन्।

प्रकाशले पुरुष ७५ केजीमाथि तौल समूहमा पहिलो स्थान हासिल गरेर मिस्टर काठमाडौंको उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा उनले १ लाख ५० हजार र आफ्नो तौल समूहमा पहिलो भएकाका लागि १५ हजार नगद पुरस्कार प्राप्त गरे।

अन्य तौल समूहका विजेताहरू यसप्रकार छन्:

  • पुरुष ५५ केजी: डिभाइन फिजिकल फिट्नेसका राजकुमार मानन्धर
  • पुरुष ६० केजी: एक्सट्रिम फिट्नेसका चनबहादुर थापा
  • पुरुष ६५ केजी: ग्यालेक्सी फिट्नेसका हर्कबहादुर राई
  • पुरुष ७० केजी: कालीमाटी फ्रेन्डसिप जिमका देवेन्द्र वज्राचार्य
  • पुरुष ७५ केजीमुनि: फिट्नेस टाइमका कृष्णप्रसाद श्रेष्ठ

छ स्पर्धामा शीर्ष तीन स्थानमा रहेका खेलाडीहरूले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गरे।

जुनियर पुरुष शारीरिक सुगठनमा डाइन्यास्टी फिट्नेस क्लबका आदित्य श्रेष्ठले पहिलो, दि जिम एक्सका रिसब श्रेष्ठले दोस्रो, र अल्टिमेट लिफ्टिङ क्लबका अशिमसिंह थापाले तेस्रो स्थान प्राप्त गरे।

पुरुष मास्टर्स शारीरिक सुगठनमा डिभाइनका रमेश अधिकारीले स्वर्ण, माइ फिट्नेस जिमका सलिम कुराइसीले दोस्रो र भुमही जिम एन्ड फिट्नेसका नवराज डुम्रेले तेस्रो स्थान प्राप्त गरे।

महिला एथलेटिक फिजिकमा जिम एक्सकी सानु श्रेष्ठले पहिलो, एक्सपोज जिमकी कमला श्रेष्ठले दोस्रो र गोल्डस् जिमकी उर्मिला श्रेष्ठले तेस्रो स्थान प्राप्त गरे। शीर्ष तीन स्थानमा रहेकाहरूले क्रमशः ५० हजार, २५ हजार र १५ हजार नगद पुरस्कार प्राप्त गरे।

विजेताहरूलाई गृह मन्त्री रमेश लेखक, संघीय सांसद ठाकुर गैरे, पूर्व प्रदेश मन्त्री केशव स्थापित, नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघका वरिष्ठ उपाध्यक्ष विजयलाल कायश्थ, र आयोजक काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघका अध्यक्ष सुरेश सुवेदीलगायतले पुरस्कार प्रदान गरे।

प्रतियोगितामा २ सय ८ खेलाडीले प्रतिस्पर्धा गरे।