पलेशालाई मासिक भत्ता दिने गण्डकी प्रदेश सरकारको घोषणा

1.5K
shares

पेरिस ओलम्पिक पारा तेक्वान्दोमा नेपाली ऐतिहासिक कास्य पदक बिजेता पलेशा गोवर्धनलाई पोखरामा सम्मान गरिएको छ ।

गण्डकी प्रदेश तेक्वान्दो संघ र कास्की जिल्ला तेक्वान्दो संघद्वारा पोखरा रंगशालामा आइतबार आयोजित एक भब्य कार्यक्रमकाबिच पलेशासहित प्रशिक्षक कविराज नेगी लामा र टिमका म्यानेजर श्याम कृष्ण श्रेष्ठलाई सम्मान गरिएको हो।

ओलम्पिक पदक बिजेता पलेशालाई गण्डकी प्रदेश सरकारले नगद १ लाख ५० हजार र पोखरा महानगरपालिकाले नगद २ लाख २ हजार २२२ रुपैयाँसहित सम्मानपत्रद्वारा सम्मान गरिएको छ । त्यसैगरी कास्की जिल्ला तेक्वान्दो संघले समेत नगद ५० हजार ५ सयसहित पलेशालाई सम्मान गर्यो । पलेशासहित प्रशिक्षक कविराज नेगी लामा र टिम प्रशिक्षक श्यामकृष्ण श्रेष्ठ तथा नेपाल तेक्वान्दो संघलाई प्रशंसा पत्रसहित गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापा, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तेज बहादुर गुरुङलगायतले सम्मान गरेका हुन् ।

सम्मानपछि बोल्दै गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पाण्डेले पलेशालाई गण्डकी प्रदेश सरकारले मासिक भत्ता उपलब्ध गराउने घोषणा गरेका हुन् ।

उनले खेलाडीले राष्ट्रको नामलाई अग्रस्थानमा राख्न अहम भूमिका खेल्ने गरेको जनाउँदै यसमा कुनै पनि राजनीतिक पार्टी, धर्मसंस्कृति, जातजातिको भन्ने नभई सबैको साझा खेलाडी हुने बताए ।

सम्मानित पलेशाले कुनै क्षेत्रमा असफलता निराश नभई निरन्तर लागेमा सफलता प्राप्त हुने बताए । उनले खेलको माध्यमबाट नेपाललाई चिनाउन पाउनु गर्विलो क्षण भएको बताए ।

गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगन बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेपाल तेक्वान्दो संघका केन्द्रिय अध्यक्ष प्रकाश शम्सेर राणा, गण्डकी प्रदेशका उपाध्यक्ष लक्ष्मी पाण्ड, महासचिव रमेश पौडेल लगायतले खेल र खेलाडीको बारेमा आफ्ना भनाई राखेका थिए । सो कार्यक्रमको संचालन कास्की जिल्ला तेक्वान्दो संघका सचिव दिपेन्द्र पहारीले गरेका थिए ।

नेपाललाई पारा ओलम्पिकमा ऐतिहासिक पदक दिलाएकी पलेशा गोवर्द्धनले तेक्वान्दोको के ४४ अन्तर्गत ५७ केजीभन्दा कम तौलको प्रतिस्पर्धामा सर्वियाली खेलाडीलाई पराजित गरी कांस्य पदक जितेकी थिइनु् । पलेशा ओलम्पिक प्रतिस्पर्धामा पदक जित्ने पहिलो नेपाली खेलाडी हुन् ।