ग्रामीण क्षेत्रका कृषकहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्न बैंकलाई मन्त्री  काफ्लेको सुझाव

1.43K
shares

बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दन राज काफ्लेले बैंकलाई शहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्रका कृषकहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्न सुझाव दिएका छन् ।

सोमबार मन्त्रालयमा बसेको कृषि विकास बैंक र साना किसान विकास लघुवित्त वित्तीय संस्थालाई नाफामुखी मात्र नभई कृषकमैत्री बन्न मन्त्री काफ्लेले सुझाएका हुन् ।

प्रदेश सरकारले बैंक तथा वित्तीय संस्थामार्फत ग्रामीण क्षेत्रका कृषक वर्गहरुको लागि सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने उद्देश्यले कृषि विकास बैंक र साना किसान विकास लघुवित्त वित्तीय संस्थालाई उपलब्ध गराएको रकमको प्रगति विवरण तथा आगामी कार्ययोजनाको विषयमा छलफल गर्दै मन्त्री काफ्लेले मुलुकको आर्थिक अवस्था जेजस्तो भए पनि बैंकहरुको नाफा बर्सेनि बढिरहेपछि उनीहरु नाफामुखी भएको आरोप लाग्दै आएको बताए ।

वैदेशिक रोजगारबाट फर्केका युवाहरुलाई कृषितर्फ आकर्षित गर्ने उद्देश्यले प्रदेश सरकारले २०७७ सालमा सुरु गरेको कार्यक्रममा हालसम्म ३ अर्ब ३० करोड रकम बैंकलाई उपलब्ध गराएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको तथ्यांक अनुसार कृषि विकास बैंकलाई १ अर्ब ६६ करोड र साना किसानलाई १ अर्ब ६४ करोड  उपलब्ध गराएको रकममध्ये साना किसानले मात्र सतप्रतिशत लगानी गरेको पाइएको छ ।

कृषि विकास बैंकले भने १ अर्ब २३ करोड मात्र लगानी गरेको छ । बाँकी लगानी गर्न नसकेको रकम ४२ करोड ५६ लाख मन्त्रालयलाई फिर्ता गरिएको कृषि विकास बैंक शाखा कार्यालय कान्तिराजपथका प्रमुख नुरप्रसाद गौतमले बताए ।

Details in pdf

ग्रामीण क्षेत्रका कृषकहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्न बैंकलाई मन्त्री काफ्लेको सुझाव