राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रामा नेपालीलाई शुभकामना व्यक्त

1.98K
shares

राष्ट्रपति रामचन्द्र पौडेलले कुमारी इन्द्रजात्राको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, र समृद्धिको शुभकामना व्यक्त गरेका छन्। यस पर्वमा वर्षा र समृद्धिका देवता देवराज इन्द्रको पूजा गर्दै जीवित देवी कुमारी, गणेश, र भैरवको रथयात्रा धुमधामसँग मनाइन्छ।

राष्ट्रपति पौडेलले पर्याप्त वर्षा र फलदायी अन्नबालीका लागि वर्षाका देवता इन्द्रप्रति कृतज्ञता प्रकट गर्दै मनाइने यस पर्वले प्रकृति र मानवबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्ने उल्लेख गर्नुभएको छ। शताब्दीयौँदेखि प्रचलनमा रहेका यस्ता मौलिक पर्वले हाम्रो प्राचीन सभ्यता र संस्कृतिको संरक्षणमा थप मद्दत पुग्ने विश्वास छ।

“काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, र दोलखामा मनाइने कुमारी इन्द्रजात्राजस्ता सांस्कृतिक र ऐतिहासिक पर्वले विविध जातजाति, भाषाभाषी, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीहरू बीचमा परस्पर विश्वास, सद्भाव, सहिष्णुता र सहयोगको भावना प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सहयोग पुर्‍याउने अपेक्षा गर्दछु,” शुभकामना सन्देशमा उहाँले भनेका छन्।