इन्द्रजात्रा समारोहमा मेयर बालेन अनुपस्थित,अघोषित बहिष्कार

1.25K
shares

इन्द्रजात्राको अवसरमा काठमाडौँको हनुमान ढोका दरबार क्षेत्रमा विशेष समारोह आयोजना गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसहित राज्यका उच्च अधिकारीहरूले समारोहमा भाग लिएका थिए।

तर, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ समारोहमा अनुपस्थित थिए। उनले अघिल्लो वर्ष इन्द्रजात्रालाई अन्तर्राष्ट्रिय बनाउन विदेशी अतिथिहरूलाई निमन्त्रणा गरेका थिए, तर यस वर्ष उनले अघोषित बहिष्कार गरेका छन्। सचिवालयका अनुसार, बालेन अहिले भारतको बैंगलोरमा रहेका छन्।

यद्यपि आज उनको फर्किने तालिका थियो, उनले इन्द्रजात्रामा सहभागी नहुने निर्णय लिएका छन्। समारोहमा बालेनका केही समर्थकहरू उनका नाम र तस्बिर अंकित टिसर्ट लगाएर आएका थिए। कार्यक्रम सुरु नहुँदै, प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको छ।

इन्द्रजात्रा समारोहको नेतृत्व काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलले गरिन्, र राष्ट्रपतिसहितका विशिष्ट पाहुनाहरूलाई स्वागत गरिन्।