स्वास्थ्य सम्बन्धि विधेयक एउटा पनि नआएको सभापति थापाको गुनासो
वि.सं.२०८१ असोज ९ बुधवार ११:१३
shares

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले स्वास्थ्य सम्बन्धि विधेयक एउटा पनि नआएको गुनासो गरेका छन् ।
बुधबार काठमाडौंमा नेपाल फार्मेसी संघले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले स्वास्थ्यका लागि पुराना ऐन कानूनले नचल्ने कारण नयाँ तरिकाले जानुपर्ने भन्दै कानून बनाउनका लागि त्यस्तो समस्या नभएको बताए ।
उनले भने, ‘शिक्षा, स्वास्थ्य, सूचना र खेलकुद मन्त्रालय हाम्रो समितिको मातहतमा पर्छ । स्वास्थ्यका लागि मैले अझैसम्म पनि एउटा विधेयक भेट्या छैन् । मैले स्वास्थ्य मन्त्रीलाई पनि स्वास्थ्यका लागि पुराना ऐन कानूनले चल्दैन् भनेर भनेको छु । यसमा छिटोभन्दा छिटो नयाँ तरिकाले कसरी जान सकिन्छ ती ऐन कानूनहरु निर्माण गर्नु भनेर भन्दा धेरै विधेयकहरु पास गर्नुपर्ने छ भनेर भन्छन् तर विधेयकहरु आउदैँनन् । पुरानै ऐन कानूनमा रमाउनु पर्ने अवस्था हो की नत्र कानून बनाउनका लागि त उहाँहरुलाई त्यस्तो समस्या छ जस्तो मलाई लाग्दैन् ।’
यसको साथै, उनले डाक्टरहरुसँग दोहोरो सम्झौता नगरेसम्म औषधी विक्रि नहुने खालको प्रवृत्ति बढेको भन्दै कस्तो कुन कम्पनी भन्दा पनि बिरामीलाई के गर्दा सहज हुन्छ त्यो कुरामा ध्यान दिनुपर्ने बताए ।
विदेशबाट औषधी ल्याउनु भन्दा नेपालभित्रकै उत्पादनलाई कसरी प्रोत्साहान दिन सकिन्छ त्यो विषयमा पनि ध्यान जानुपर्ने उनको भनाई छ ।













