भारी वर्षाको सम्भावना, सडक तथा हवाई यातायात सेवा प्रभावित हुनसक्ने

  • देशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । देशभर साधारणदेखि पूर्णतया बदली हुँदा केही भू–भागमा वर्षा भइरहेको हो । आज बिहान कोसी, मधेस, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारण बदलीदेखि पूर्णतया बदली रहनेछ ।

    सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    कोसी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ । तराई भू–भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

    विभागले राति देशभर साधारण बदलीदेखि पूर्णतया बदली रहने बताएको छ । कोसी, वाग्मती, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    धेरै भारी वर्षाको पनि सम्भावना रहेकाले गेग्रान बहाव, बाढी, पहिरो, सहरी तथा तराई क्षेत्रहरूमा डुबानको  जोखिम रहेको विभागको भनाइ छ ।

    देशभर मनसुनी वायुको प्रभाव छ । बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीको पनि प्रभाव रहेको रहेको विभागले जानकारी दिएकाे छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation