सर्वोच्च अदालत : पूर्वसभामुख सापकोटाविरुद्धकाे मुद्दामा सक्कल फाइलसहित उपस्थित हुन आदेश
वि.सं.२०८१ असोज १० बिहीवार १२:१२
shares

सर्वोच्च अदालतको संवैधानिक इजलासले पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नी सापकोटामाथिकाे मुद्दामा अनुसन्धान हुनुपर्ने माग गरि दायर भएको रिटमा काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालयलाई सक्कल फाइलसहित उपस्थित हुन आदेश गरेको छ।
प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्ययाधीशहरु प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलासले अदालतको अन्तरिम आदेश पश्चात् के भएको हो त्यसको सक्कल फाइलसहित उपस्थित हुन भनेको हो ।
आदेशमा भनिएको छ, ‘हालसम्म अनुसन्धानको कारबाही सम्पन्न भयो भएन ? नभएको भए के कारणबाट हुन नसकेको हो ? साथै, यस सन्दर्भमा पूर्वादेशअनुसार नियमित रूपमा प्रगति प्रतिवेदन प्राप्त हुन आएको भन्ने पनि मिसिलबाट देखिएन।’
‘त्यसकारण सम्पूर्ण विवरण खोली विपक्षी जिल्ला प्रहरी कार्यालय, काभ्रेपलान्चोकबाट जाहेरी दरखास्त र सो सम्बन्धमा हालसम्म भएको काम कारबाहीसम्बन्धी सक्कलै फाइल पेसीको दिन देखाई फिर्ता लैजाने गरी झिकाई आएपछि लगाउनका निवेदनहरूसमेत साथै राखी नियमानुसार पेस गर्नू’ आदेशमा भनिएको छ ।
सापकोटालाई काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको अभियोगमा सजाय माग गर्दै अर्जुनकी पत्नी पूर्णिमाया लामा र सुशील प्याकुरेले रिट दायर गरेका थिए ।















