हस्पिटालिटी कन्क्लेभ सुरु, व्यवसायी उत्साहित
वि.सं.२०८१ असोज १० बिहीवार १२:४०
shares

नेपाल हस्पिटालिटी कन्क्लेभको दोस्रो संस्करण विहीबारबाट काठमाडौंमा सुरु भएको छ ।
नेपाली आतिथ्यता क्षेत्रको विकास एवं प्रवर्द्धनको उद्देश्यले आयोजना सम्मेलन भोलि शुक्रबारसम्म काठमाडौं बुढानीलकण्डस्थित लेमोन ट्रि प्रिमियर होटलमा सञ्चालन हुनेछ ।
सोही क्रममा होटल एसोसिएसन अफ नेपाल (हान) का अध्यक्ष विनायक शाहले नेपालले आजको अवस्थासम्म आउँदा धेरै चुनौतीहरुको सामना गर्नुपरे पनि अहिले अवस्था सुधार हुदैँ गएको बताए ।
उनले २०२३ मा धेरै नै पर्यटकहरुलाई नेपाल भित्राउन सफल भएको र यो वर्ष पनि सात लाख पर्यटकलाई भित्राउन सफल भइसकेको भन्दै यसले सुधार हुदैँ गएको अवस्थालाई देखाउने बताए ।
उनले भने, ‘आज यहाँ आएर हाम्रो यात्रालाई हेर्ने हो भने हामीले हासिल गरेको कुरा र सिकेका कुराहरुलाई याद राख्न आवश्यक छ । नेपालले आजको अवस्थासम्म आउँदा धेरै चुनौतीहरुको सामना गर्नुपरेको छ । राजनीतिक अस्थिरता, प्राकृतिक विपद्, विश्वव्यापी महामारी सबैको सामना गर्नुपरेको छ । जसले गर्दा पर्यटकीय क्षेत्रमा धेरै प्रभाव परेको छ । तर अझै बलियो भएर अगाडि बढेका छौ । २०२३ मा धेरै नै पर्यटकहरुलाई नेपाल भित्राउन सफल भएका छौ । यो वर्ष पनि सात लाख पर्यटकलाई भित्राउन सफल भइसकेका छौ । यसले हाम्रो सुधार हुदैँ गएको अवस्थालाई देखाउँछ ।’
हान १९६६ मा स्थापित भएको हो । यसले देशभरका पाँच हजारभन्दा पनि बढि होटलहरुको प्रतिनिधित्व गर्छ ।
हानमा विभिन्न स्टारको होटल, बुटिक, रिसोर्टहरुको साथै देशभरका ५ हजारभन्दा पनि बढि होटलहरुको आबद्ध रहेको भन्दै देशभर रोजगारी सिर्जना गर्न सकेकोमा गर्व महशुस भएको पनि उनको भनाई छ ।













