झ्याप्ले खोलामा पुरिएको अर्को बसबाट निकालियो तीनवटा शव
वि.सं.२०८१ असोज १३ आइतवार ०५:१४
shares

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको झ्याप्ले खोलामा पुरिएको अर्को बसबाट तीनवटा शव निकालिएको छ।
आइतबार बिहान करिब १० बजे शव निकालिएको जिल्ला प्रहरी कार्यालय धादिङका निमित्त सूचना अधिकारी इन्स्पेक्टर प्रल्हाद सिलवालले जानकारी दिए।
उक्त शव बस भित्रैबाट निकालिएको भनिएको छ। तथापि शवको पहिचान खुलेको छैन।
गाडीको माथिल्लो हटाएर निकालिएको भनिएको छ। अहिलेसम्म कुन गाडी हो र कहाँ जाँदै थियो भन्ने खुलेको छैन, इन्स्पेक्टर सिलवालले भने।
शव निकालिएपछि गाडीको बाँकी भाग निकाल्ने प्रयास भइरहेको छ।
शव पहिचानपछि पोस्टमर्टमका लागि पठाउने प्रहरीको तयारी छ।
यसैबीच गोरखा दरौंदी यातायात सेवा कम्पनीको बस सम्पर्कविहीन भएको छ।
ना ४ ख २२७० नम्बरको यात्रुबाहक बस लापुबेसीबाट काठमाडौं जानका लागि छुटेको र खानीखोलाबाट सम्पर्कविहीन भएको कम्पनीका अध्यक्ष नारन खत्रीले जानकारी दिए।
‘लापुबेसीबाट बिहान ११ बजे बिहान छुटेको थियो। बसमा दुई–तीन जना मात्रै यात्रु भएको बुझेका छौं। धादिङको धुनीबेसी नगरपालिकास्थित खानीखोला पुगेपछि सम्पर्कविहीन भएको छ,’ उनले भने।
यात्रुका आफन्तले पनि सम्पर्कमा नआएको भन्दै फोन गरिरहेको खत्रीले जानकारी दिए। हराएको बस झ्याप्ले खोलामा पुरिएको बस हुन सक्ने आकलन गरिएको छ।
यसअघि शनिबार नै झ्याप्ले खोलामा एउटा बस र विंगर जिप पुरिएका थिए। पुरिएको गाडीबाट १४ जनाको शव निकालिएको थियो।












