अविरल बर्षाका कारण विद्युत आयोजनातर्फ साढे दुई अर्ब रुपैंयाँ बराबरको नोक्सानी
वि.सं.२०८१ असोज १३ आइतवार १२:१८
shares

अविरल बर्षाका कारण हालसम्म विद्युत आयोजनामा साढे दुई अर्ब रुपैंयाँ बराबरको नोक्सानीको भएको छ ।
आइतबार ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले पत्रकार सम्मेलन गर्दै ११ सय मेगावाट विद्युत अवरुद्ध भएको साथै दुई अर्ब ४५ करोड बराबरको क्षति भएको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘निरन्तर परिरहेको अविरल वर्षाको कारण विकासको आधुनिक पूर्वाधारको रुपमा रहेका जलविद्युत आयोजनाहरु तथा सिंचाईका निर्माणाधीन तथा निर्माण सम्पन्न भई संचालनमा रहेका आयोजनाहरुमा पनि बाढी र पहिरोले ठुलो क्षति पुर्याएको छ । कुल ६२५.९६ मेगावट जडित विद्युत क्षमताको ११ वटा संचालनमा रहेका जलविद्युत आयोजनाहरुमा क्षति भएको छ । आपतकालीन अवस्थामा अधिकांश विद्युतगृहहरुको उत्पादन बन्द समेत रहे अनुसार करिब ११०० मेवा. बराबरको उत्पादन रोकिएको र कुल १०१०.२९ मेवा जडित विद्युत क्षमताको १५ वटा निर्माणाधीन जलविद्युत आयोजनाहरुमा क्षति भएको छ । विद्युत आयोजनामा पुगेको क्षति तर्फ हालसम्म प्राप्त तथ्यांक अनुसार करिब २.४५ अर्ब बराबरको क्षति भएको छ ।’
आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा ऊर्जामन्त्री दीपक खड्काले अहिलेसम्म प्राप्त तथ्यांक अनुसार ऊर्जा क्षेत्रमा मात्रै करिब २ अर्ब ४५ करोड रूपैयाँ बराबरको क्षति पुगेको जानकारी दिए ।
करिब ११०० मेगावाट क्षमताका विभिन्न जलविद्युत आयोजनाको विद्युत् गृह बन्द रहेको समेत उनको भनाइ थियो ।












