सरकारले गुहार्‍यो बाढी–पहिरो पीडितको सहायताका लागि विकास साझेदार

2.26K
shares

राष्ट्रिय विपद् व्यवस्थापन कार्यकारिणी समितिको बैठकले बाढीपहिरो लगायतका मनसुनजन्य विपद्मा परी बेपत्ता भएका परिवारलाई मृतक सरह राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ । साथै सहायताका लागि विकास साझेदारहरुलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

आज बिहान बसेको बैठकले वेपत्ता भएको १० दिनसम्म पनि फेला नपरेका व्यक्तिलाई मृतक सरह मानेर परिवारका सदस्यलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
बैठकले घरबास गुमाएकाहरुलाई अस्थायी आवास बनाउने नगद उपलब्ध गराउने निर्णय पनि गरेको छ । त्यसका लागि सम्बन्धित स्थानीय तहले लाभग्राही पहिचान गरेपछि राहत रकम वितरण गरिने छ ।

अस्थायी आवास निर्माण अनुदानसम्बन्धी मापदण्ड, २०८१ बमोजिम रकम उपलब्ध गराइने गृह मन्त्रालयका प्रवक्ता तिवारीले जानकारी दिए ।
घरबास गुमाएकाहरुलाई तत्कालका लागि २५ हजार रुपैयाँ उपलब्ध गराइने छ । बैंक खाता भएकालाई बैंकमा जम्मा गरिदिने र बैंक खाता नभएकाले चेक पाउने छन् । चेक साट्न भने बैंकमै पुग्नुपर्ने छ ।

त्यसबाहेक जिल्ला प्रशासन कार्यालयले तत्कालका पाँच जनासम्मको परिवारलाई १५ हजार र पाँच भन्दा बढी सदस्य भएका परिवारलाई २० हजार रुपैयाँको दरले राहत रकम पनि उपलब्ध गराउने छ ।

समितिको बैठकले बाढी पहिरोमा परेरकाहरुको खोज, उद्धार र राहत कार्यलाई तीव्रता दिने निर्णय गरेको छ । खोज, उद्धार, राहत वितरण र पुनर्स्थापनाको काम एकद्वार प्रणालीबाट हुने छ ।

बाढी पहिरोका कारण बीचबाटोमै अलपत्र परेकाहरुलाई छिटो उद्धार गरी गन्तव्यसम्म पुर्‍याउने जिम्मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई दिइएको छ ।

साथै खानेपानी, बिजुली, बिजुली, स्वास्थ्य संस्था सम्बन्धित काम र पुनर्निर्माण सम्बन्धित मन्त्रालयले गर्ने निर्णय पनि बैठकले गरेको छ । विपद् पश्चात पैदा हुनसक्ने महामारीजन्य रोग व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयले काम गर्ने छ ।