बाढीपहिरोपीडितलाई अस्थायी आवास बनाउन सरकारले अनुदान दिने 

1K
shares

सरकारले गत शुक्रबार र शनिबारको अविरल वर्षाका गएकाे बाढीपहिरोकाे कारण घरबास गुमाएका परिवारलाई अस्थायी आवास निर्माणका लागि अनुदान उपलव्ध गराउने निर्णय गरेको छ ।

गृहमन्त्रालयमा सोमबार बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्यकारी समितिको बैठकले सात दिनभित्र लाभग्राही पहिचान गरी तीनदिनभित्रै अस्थायी आवास निर्माण अनुदान मापदण्ड बमोजिमको अनुदान रकमको पहिलो किस्ता तत्काल उपलव्ध गराउने निर्णय गरेको हो ।

बैठकले बिपद् प्रभावित क्षेत्र खोज, उद्दारका बाँकी कार्यलाई निरन्तरता दिँदै मौसमजन्य विपद् प्रभावितका लागि राहत वितरण प्रकृया एकद्वार प्रणालीबाट तत्काल सुरु गर्ने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले बताए ।

यसैगरी राजमार्गमा अलपत्र परी गन्तव्यमा पुग्न नसकेका यात्रुलाई गन्तव्यसम्म पुग्ने व्यवस्था गर्न अवरुद्ध सडकखण्डहरू यथाशीघ्र सञ्चालन गर्ने व्यवस्था भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मिलाउने निर्णय भएको उनले बताए ।

त्यस्तै विपद् पश्चात फैलिन सक्ने महामारीको आँकलन गरी महामारीजन्य रोग फैलन नदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्भाव्य जोखिमयुक्त स्थानहरूमा जनचेतना, स्वास्थ्य शिविरहरू लगायत कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको उनले बताए ।