प्रशोधित भैँसीको मासु चीन निर्यात गर्ने तयारीमा सरकार

1.95K
shares

सरकारले प्रशोधित भैँसीको मासु चीन निर्यात गर्ने विषयमा  द्विपक्षीय सम्झौताको तयारी गरेको छ । दुई मुलुकबीच सम्झौताका लागि आवश्यक पत्र तयार गरी चिनियाँ सरकारलाई पत्राचार गरेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहप्रवक्ता डा. तपेन्द्र बोहराले जानकारी दिएका हुन्।

मन्त्रालयले ‘सम्झौतापत्र’ मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरिसकेर चीनलाई पठाइसकेको जानकारी दिएकाे छ । चीन सरकारले मिति तय गरेपछि दुई देशबीच निर्यातसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुनेछ ।

स्वीकृत सम्झौतापत्र प्रस्तावका रुपमा परराष्ट्र मन्त्रालयले कूटनीतिक माध्यमबाट चीनलाई पठाइसकेकाले चीनको जवाफ प्राप्त हुनासाथ औपचारिक रूपमा द्विपक्षीय सम्झौता हुने सहप्रवक्ता बोहराले बताए ।

चीन भन्सारको सामान्य प्रशासन (जिएसिसी)ले मासुसहित १८ खाद्य वस्तु आयातसम्बन्धी नीतिनियम छ । जिएसिसीले मासु आयातका लागि भैँसी रोगमुक्त हुनुपर्ने, खाद्य, स्वच्छतासहित नेपाली हावापानीमा उत्पादन हुनुपर्ने, ३० महिना मुनिको भैँसी हुनुपर्ने, ‘बध’ गर्दा सरकारले तोकेको मापदण्ड पालना गर्नुपर्नेलगायत नियम बनाएको छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार नियम पालना गरी नेपालले मासु निर्यात गर्नुपर्नेछ ।

मन्त्रालयले मासु निर्यात गर्न मधेस प्रदेश, बागमती प्रदेश र लुम्बनी प्रदेशका केही जिल्लालाई भैँसीको मासुका लागि पकेट क्षेत्र निर्धारण गरेको छ ।